काठमाडौं । सन् १९८५ देखि १९९६ बीचमा उत्पादन भएको यामाहाको आइकोनिक मोटरसाइकल आरएक्स १०० निक्कै चर्चामा आएको मोटरसाइकल हो । नेपाली बजार सन् ९०को दशकमा आरएक्स मोटरसाइकल चढ्नेहरु यसलाई प्रतिष्ठासँँग जोडेर हेर्ने गथ्र्ये ।
नेपालमा त्यति बेला फस्टाएको चिठ्ठा व्यवसायले आफ्नो पहिलो पुरस्कार यामाहार आरएक्स १०० रहेको कुरा खुलाएर प्रचारप्रसार गर्ने गरेको जानकारहरु बताउँछन् ।
तर, २०५६ सालमा नेपालले उत्सर्जन तथा प्रदूषणको कानुन निर्माण गरेर टुस्टोक मोटरसाइकल बन्द गर्ने निर्णय गरेसँगै यसको आयात बन्द भएको हो ।
अहिले पनि उपत्यकाका सडकमा सञ्चालनमा नआएपनि धेरैको घरको ग्यारेजमा यो मोटरसाइकल पाउन सकिन्छ । बिक्री वितरण बन्द भएको लामो समय भएतापनि हामीले मोटरसाइकल प्रति मोह बोकेका मानिसको मनमा बस्न सफल आरएक्स–१०० बारे केही रोमोन्चक तथ्य यहाँ उल्लेख गरेका छौं ।
पकेट रकेट !
आरएक्स–१०० लाई रकेट पकेटको नाम दिइएको थियो । वजनमा हलुका भएको कारण मोटरसाइकललाई उक्त नाम दिइएको हो । ९८ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिनमा उपलब्ध मोटरसााइकलको तौल पनि ९८ किलोग्राम नै थियो । यसमा उपलब्ध इन्जिनले ११ बीएच पावरका साथै १०.३९ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्थ्यो । यसमा पाँच स्पीड गियरबक्स दिइएको थियो ।
उच्च मूल्य
उक्त समयमा यसको मूल्य निकै धेरै भएको बाइकको रुपमा लिने गरिन्थ्यो । नेपाली बजारमा करिब ९० हजारदेखि १ लाख १० हजार रुपैयाँसम्ममा यसको बिक्री वितरण भएको बताइन्छ । त्यति बेला यसको प्रतिस्पर्धी मोटरसाइकल होन्डा सिडी–१०० भन्दा यो निक्कै महंगो मानिन्थ्यो । यो मोटरसाइकल चेरी रेड, पिकक ब्लु र ब्ल्याक रंगमा उपलब्ध थियो ।
कम तौलको चेसिस
यो मोटरसाइकलमा निक्कै हलुका चेसिस लगाइएको थियो । जसका कारण मोटरसाइकललाई हाइ स्पीडमा नियन्त्रण गर्न गाह्रो हुने गथ्र्याे । यद्यपी, मोटरसाइकलमा आकर्षक एस्केलेरेशन उपलब्ध थियो । जसका कारण बाइक चर्चामा रहेको थियो ।
फिल्ममा आरएक्स १००को इन्ट्री !
विशेषत, प्राय सबै साउथ इन्डियन फिल्ममा यो मोटरसाइकलको दृश्य देख्न सकिन्थ्यो । आज पनि, फिल्मका मुख्य कलाकार र सहायक कलाकारले यो मोटरसाइकलको प्रयोग गरेको दृश्य देख्न सकिन्छ । नेपालमा पनि उक्त समयका फिल्ममा यसको निकै प्रयोग भएको पाइन्छ ।
आइकोन मस्कुलर !
यो मोटरसाइकललाई हाल रोयल इन्फिल्ड मोटरसाइकललाई जस्तै मस्कुलिटीको संकेतको रुपमा लिइन्थ्यो ।
चोरको प्रमुख रोजाइ !
सो समयमा यो मोटरसाइकल विशेषत, चोरहरुको रोजाइमा पर्ने मोटरसाइकल भनेर चिनिन्थ्यो । ‘स्ट्रिट क्रिमीनल’को रोजाइमा पर्ने यस मोटरसाइकललाई ‘किंग अफ स्ट्रिट’को नाम दिइएको थियो ।
उच्चगति चाहनेको प्यारो बाइक
यसलाई तिब्रगति चाहनेहरुले निकै मनपराउने गरेका थिए । रेसरले, यस मोटरसाइकललाई एक्स्पानेशन च्याम्बर, पोर्टिङ, इन्जिन टर्निङ, स्प्रोकेट र ह्वील साइजको परिमार्जन गर्ने गरेका थिए ।
यसका अलवा, मोटसाइकलको कार्बुरेट, एयर फिल्टर, क्विकर थ्रोटल, ब्रेकलगायतको परिमार्जन गर्दै चलाउँदै गरेको पाइन्थ्यो । हालसम्म पनि यो मोटरसाइकलको विभिन्न मोडिफाइ स्वरुप देख्न सकिन्छ ।

