काठमाडौं । मारुति सुजुकीले आफ्नो बहुप्रतिक्षित ब्रेजा फेसलिफ्ट मोडल आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
कम्पनीले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आफ्नो पकड अझ बलियो बनाउन थप शक्तिशाली टर्बो इन्जिन, नयाँ बाहिरी डिजाइन र अत्याधुनिक फिचरसहित नयाँ ब्रेजा ल्याएको हो ।
कम्पनीले नयाँ ब्रेजाको सुरुवाती मूल्य (एक्स शोरुम) ७ लाख ४० हजार भारु तोकेको छ । हालको जेनेरेसन बजारमा आएपछिको मारुतीले ब्रेजामा पहिलोे पटक सबैभन्दा ठूलो अपडेट गरेर ल्याएको हो ।
नयाँ ब्रेजाको अगाडि क्रोम बारसहितको नयाँ ग्रिल, आकर्षक एलईडी हेडल्याम्प र परिमार्जित बम्पर दिइएको छ । नयाँ डिजाइनका एलोय ह्वील दिइएको फेसलिफ्ट ब्रेजामा पछाडि पनि अपडेट गरिएको बम्पर छ ।
कम्पनीले नयाँ ब्रेजा स्प्लेन्डिड सिभर, सिजलिङ रेड, म्याग्मा ग्रे र डुअल टोन विकल्पसहित १० भन्दा बढी कलर अप्सनमा उपलब्ध गराएको छ ।

कम्पनीले यसको इन्टेरियरमा चाँदीका सजावटहरूको सट्टा टल्कने कालो फिनिसिङका साथ नयाँ ट्रिमहरू ल्याएको छ । तर परिचित डुअल टोन थिम र समग्र बनावटलाई यथावत राखिएको छ।
टप भेरियन्टहरूमा ठूलो १०.१९इन्चको इन्फोटेनमेन्ट टचस्क्रीन दिइएको छ भने वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले फिचर यथावत छन् ।
नयाँ ब्रेजामा ६४ रङको एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, भेन्टिलेटेड अगाडिका सिट, पावर ड्राइभर सिट, प्यानोरमिक सनरुफ, एक्टिभ कूलिङसहितको वायरलेस स्मार्टफोन चार्जिङ, हेडअप डिस्प्ले र ३६० डिग्री क्यामेरा जडान गरिएको छ ।
सुजुकीले नयाँ ब्रेजामा हालकै इन्जिनका विकल्प यथावत राख्दै अझ शक्तिशाली टर्बो इन्जिन पनि उपलब्ध गराएको छ ।
कम्पनीले नयाँ ब्रेजामा ठूलो अपडेट भनेको मारुतीको के१० सी बुस्टरजेट टर्बो पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ११० हर्ष पावर र १७० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा कम्पनीले नयाँ ६ स्पीड म्यानुअल गियरबक्स दिएको छ ।
हालको १.५ लिटरको के १५ सी प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिन पनि जारी छ । यसले पहिलेको ५ स्पीड म्यानुअललाई प्रतिस्थापन गर्दै नयाँ ६ स्पीड म्यानुअल ट्रान्समिसन दिएको छ । ६ स्पीड म्यानुअल गियरबक्स सबै पावर ट्रेनमा उपलब्ध छ । अटोमेटिक ट्रान्समिसन भने १.५ लिटर पेट्रोल भेरियन्टमा मात्र उपलब्ध छ ।
सुरक्षा सुविधाहरूमा पनि सुधार गरिएको छ । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, ब्लाइण्ड स्पट वार्निङ, रियर क्रस ट्राफिक अलर्ट, सेफ एग्जिट वार्निङ र अगाडिको पार्किङ सेन्सर, हिल होल्ड असिस्ट लगायतका अन्य सुरक्षा फिचर छन् । अपडेट गरिएको ब्रेजाले फाइभ स्टार भारत एनक्याप सेफ्टी रेटिङ पाएको छ ।
नयाँ ब्रेजाले टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी थ्री एक्सओ, स्कोडा काइल्याक जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
सुजुकी ब्रेजा नेपालमा पनि चर्चित एसयूभी हो । भारतमा बिक्री सुरु भएसँगै चाँडै नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।


