इलेक्ट्रीक ब्राण्ड भिडा नेपालमा लन्च (फोटोफिचर)

काठमाडौं । नेपाली बजारमा भारतीय इलेक्ट्रीक ब्राण्ड भिडा आजदेखि औपचारिक रूपमा प्रवेश गरेको छ ।

नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले आगामी जुलाइ महिनादेखि भिडाका इलेक्ट्रीक स्कुटर र मोटरसाइकल बिक्री सुरू गरेको हो ।

कम्पनीले भिडा भी २ इलेक्ट्रीक स्कुटर र डर्ट ई के३ बाइक बिक्री सुरू गरेको हो । बजारमा इलेक्ट्रीक स्कुटरको माग बढिरहेको बेला नयाँ ब्राण्ड आएसँगै उपभोक्ताले थप विकल्प पाउने भएका हुन् ।

हिरो भिडा २ मा भेरियन्ट अनुसार २.२ किलोवाट आवर, ३.४४ किलोवाट आबर र ३.९४ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ । तीन भेरियन्टको रेन्ज पनि क्रमशः ९४ किलोमिटर, १४३ किलोमिटर र १६५ किलोमिटर रहने आईडीसीको परीक्षणले देखाएको छ ।

भिडा–२ स्कुटरको बेस भेरियन्टदेखिनै दुई राइड मोड पाउन सकिन्छ । ७ इन्चको टीएफटी डिस्प्ले, की लेस फंक्शन, एलईडी लाइटिङ, रिजनरेटिभ ब्रेकिङजस्ता फिचरहरू यसका आकर्षण हुन् । भिडा २ ले एथर, बजाज चेतक, टीभीएस आइक्युब, अर्बिटर जस्ता स्कुटरसँगै थुप्रै चिनियाँ ब्राण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, भीडा डर्ट-ई के३ ई-बाइक विशेष गरी ४ देखि १० वर्ष उमेरका बालबालिकाका लागि उपयुक्त हुने गरी निर्माण गरिएको छ । यो ई-बाइकको मुख्य आकर्षण भनेको यसमा दिइएको एड्जस्टेबल चेसिस हो । जसमा बालबालिकाको उमेर तथा हाइट अनुसार यसको ह्वीलबेस, ह्यान्डलबार हाइट र सिट हाइटलाई अग्लो वा होचो बनाउन सकिन्छ ।

बाइकमा सानो, मध्यम र ठूलो गरी तीन कन्फिगरेसनमा सेट गर्न सकिन्छ । केवल २२ किलोग्राम मात्रै तौल रहेको यस बाइकलाई बालबालिकाहरूले सजिलै ह्यान्डल गर्न सक्ने छन् ।

बाइकमा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै कम्पनीले ह्यान्डलबारमा चेस्ट प्याड, दुर्घटना सुरक्षाको लागि म्याग्नेटिक किल स्विच, रियर मोटर कभर र वाल्क असिस्टका लागि रिमुभेबल फुटपेग जस्ता सुविधा फिचरहरू दिएको छ । यो मोडलमा पछाडिमात्रै ब्रेक पाइन्छ भने यदि चाहिएको खन्डमा फ्रन्ट ब्रेक, ठूलो टायर, सस्पेन्सन र रोड स्पेक टायर एसेशरिजका रूपमा छुट्टै लगाउन पाइन्छ ।

के३ मा ५०० वाटको मोटर र ३६० वाट आवरहो रिमुभेबल लिथियम आयन ब्याट्री प्याक छ । यसमा लो, मिड र हाई गरि राइडिङ मोड दिइएको छ ।


Back_to_top