काठमाडौं । नेपाली बजारमा भारतीय इलेक्ट्रीक ब्राण्ड भिडाको इलेक्ट्रीक स्कुटर भिडा भीएक्स २ सार्वजनिक भएको छ ।
नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले आगामी जुलाइ महिनादेखि भिडा भीएक्स २ बिक्री सुरू गरेको हो ।
कम्पनीले भीएक्स टुको दुई भेरियन्ट उपलब्ध गराएको छ । जसमा भीएक्स २ गो भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ र प्लस भेरियन्टको ३ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
भिडा भीएक्स २ दुई ब्याट्री अप्सनमा आएको छ । गो भेरियन्टमा सानो २.२ किलोवाट आवर र प्लस भेरियन्टमा ४.४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ९३ किलोमिटर र १८७ किलोमिटर आइडीसी रेन्ज दिन्छ ।

फास्ट चार्जर मार्फत भिडाको ब्याट्री ६२ देखि ६५ मिनेटमा शून्यदेखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसको सिटमुनि ३३।२ लिटरसम्मको ठूलो स्टोरेज क्षमता छ ।
भिडा भीएक्स २ मा ७ इन्चको टीएफटी डिस्प्ले, की लेस फंक्शन, एलईडी लाइटिङ, रिजनरेटिभ ब्रेकिङ, ब्लुटूथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन, ओभर द एअर अपडेट्स, जियो फेन्सिङ, रिमोट इमबिलाइजेसन जस्ता फिचर छन् । साथै, साघुँरो ठाउँमा सजिलै चलाउन सहयोग गर्ने ३ किलोमिटर प्रतिघण्टासम्मको गति भएको रिभर्सरपार्क मोड उपलब्ध छ ।
भिडा भीएक्स २ ले नेपाली बजारमा भारतीय ब्राण्ड एथर, बजाज चेतक, टीभीएस आइक्युब, अर्बिटर जस्ता स्कुटरसँगै थुप्रै चिनियाँ ब्राण्डसँग प्रतिस्पर्धा गर्नेछ ।


