आइकारमा थपिने भयो अर्को नयाँ मोडल, १५ दिनपछि नेपाल आउने

काठमाडौं । चेरी अटोमोबाइल ग्रुपको आइकार भी-२७ नेपाल आउने भएको छ । आगामी नाइमा मोविलिटी एक्स्पोमा प्रदर्शन गर्नेगरी भी-२७ नेपाल आउन लागेको हो ।

आइकारको आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइल्सले नेपाल ल्याउन लागेको भी-२७ हाइब्रिड अफरोड एसयूभी हो । यसलाई कम्पनीले इआरइभी प्रविधिमा आधारित रहेर तयार पारेको छ ।

कम्पनीले तत्कालै बिक्री गर्नेगरी ल्याउन लागेको हो वा प्रदर्शनीमा राख्ने उद्देश्यले मात्रै ल्याउन लागेको हो भन्ने एकिन जानकारी दिएको छैन । तर, नयाँ मोडल अटो एक्स्पोमा प्रदर्शनी गर्ने भने निश्चित भइरहेको कम्पनी स्रोतले जानकारी दियो ।

‘अगस्ट पहिलो साता गाडी नेपाल आइपुग्ने कुरा छ । अटो एक्स्पोमा प्रदर्शनी गर्नेछौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

हाइब्रिड मोडल भएकाले यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिएको छ । चीनमा रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध भी-२७ नेपाल कुन ड्राइभ सिस्टमसहित आउन लागेको होन्ने जानकारी प्राप्त भएको छैन ।

यसको अल ह्वील ड्राइभ मोडलको अधिकतम पावर ३३५ किलोवाट छ भने ५०५ न्यूटन मिटर टर्क प्रदान गर्न सक्छ । जसको सून्यदेखि १०० किलोमिटरको टप स्पीड भेट्टाउने समय ५.५ सेकेन्ड मात्रै छ ।

चेरी ग्रुपले आइकार भी-२७ मा ३४.३ किलोवाट आवर क्षमताको सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ । जसको प्योर ईभी रेन्ज १४५ किलोमिटर आसपास छ । फुल ट्याङ्की इन्धनसहित भने १२०० किलोमिटर हाराहारी रेन्ज आउने छ ।

भी-२७ एसयूभी साइजमा पनि निकै ठूलो छ । यसको लम्बाइ ५०५५ एमएम, चौडाइ १९७६ एमएम र उचाइ १८९४ एमएम छ । यसमा २९१० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । कम्पनीले यसमा होराइजन जर्नीको ६-पी चिप प्रयोग गरेको छ । साथै, एडास भने फाल्कनको ७०० दिइएको छ ।


Back_to_top