नेपाल आयो प्रिमियम इलेक्ट्रीक स्कुटर ‘रिभर इन्डी, मूल्य पौने ४ लाख

काठमाडौं । नेपालको विद्युतीय दुईपाँग्रे सवारीसाधन बजारमा नयाँ प्रिमियम स्कुटर ब्राण्ड थपिएको छ। विशाल ग्रुप अन्तर्गतको विशाल इन्टरप्राइजेज नेपाल प्रालिले भारतको चर्चित विद्युतीय स्कुटर रिभर इन्डी नेपाल ल्याएको हो ।

कम्पनीले उक्त स्कुटर यही साउन अन्तिम साता हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्नेछ । कम्पनीले रिभर इन्डी स्कुटरको अधिकतम खुद्रा मूल्य ३ लाख ७० हजार रुपैयाँ निर्धारण गरेको छ । यद्यपि, लन्चको बेला यो मूल्य केही कम पनि हुन सक्छ ।

औपचारिक सार्वजनिक हुनुअघि रिभर इन्डी काठमाडौंका विभिन्न सडकमा परीक्षणका क्रममा देखिएको थियो। विशेषगरी ह्वाइट गुम्बा क्षेत्रको उकालो सडकमा गरिएको परीक्षणले स्कुटरलाई नेपाली सडक तथा भौगोलिक अवस्थाअनुसार मूल्यांकन गरिएको संकेत दिएको छ।

नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय दुईपांग्रे सवारीको माग तीव्र रूपमा बढिरहेको छ। उपभोक्ताले राम्रो रेन्ज, उच्च कार्यसम्पादन, मजबुत निर्माण तथा दैनिक प्रयोगका लागि उपयुक्त स्कुटर खोजिरहेका बेला रिभर इन्डीले ती आवश्यकतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। ‘एसयूभी अफ स्कुटर्स’को अवधारणासहित विकास गरिएको यो स्कुटर नेपालका शहरी तथा ग्रामीण दुवै प्रकारका सडकलाई लक्षित गरी तयार गरिएको कम्पनीको दाबी छ।

भारतको बेङ्गलुरुस्थित विद्युतीय सवारी निर्माता रिभरले उत्पादन गरेको इन्डीले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय पहिचान बनाइसकेको छ। यसले रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४ र रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५ प्राप्त गर्ने एकमात्र भारतीय दुईपांग्रे सवारीको रूपमा सफलता हासिल गरेको कम्पनीले जनाएको छ।

स्कुटरमा ४ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। यसले एकपटकको पूर्ण चार्जमा आईडीसी १६० किलोमिटरसम्म आइडीसी रेन्ज दिने कम्पनीको दाबी छ।

यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटरले १८ डिग्रीसम्मको उकालो चढ्न सक्ने क्षमता, १७७ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, १४ इन्चका पाङ्ग्रा, ५५ लिटर क्षमताको स्टोरेज, विशेष राइडर फुटपेग तथा ८ वर्षसम्मको वारेन्टी उपलब्ध हुने जनाइएको छ।

कम्पनीका अनुसार नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आगन्तुकले रिभर इन्डीलाई प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। अन्तर्राष्ट्रिय स्तरमा पुरस्कार प्राप्त डिजाइन, उच्च कार्यसम्पादन र व्यावहारिक विशेषताका कारण यो स्कुटर एक्स्पोका प्रमुख आकर्षणमध्ये एक बन्ने अपेक्षा गरिएको छ।


Back_to_top