एकैपटक २४ कार लिलामी गर्दै प्रभु बैंक

काठमाडौं । प्रभु बैंकले एकैपटक दुई दर्जन कार लिलामी गर्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न कार्यालयमा रहेका २४ वटा कार लिलामी मार्फत बिक्री गर्न लागिएको जानकारी गराएको हो ।

बैंकले ती गाडीहरु ‘जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा’ गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागिएको जनाएको छ।

लिलामीमा राखिएका सवारी साधनहरूमा कार, भ्यान, पिकअप तथा सुमोहरू रहेका छन्। जसमा महिन्द्रा स्कर्पियो, टाटा सुमो गोल्ड एक्स, हुन्डाई एटोस, मारुती अल्टो, मारुती वागनआर, हुन्डाई सेन्ट्रो, महिन्द्रा पिकअप, ओम्नी भ्यान, इको भ्यान लगायत रहेका छन् ।

इच्छुक व्यक्तिले साउन २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बैंकको प्रधान कार्यालय बबरमहल वा तोकिएका शाखा कार्यालयहरूमा बोलपत्र पेश गर्न सकिनेछ । उक्त बोलपत्र साउन २७ गते, अपराह्न ३ः१५ बजे खोलिने बैंकले जनाएको छ ।

बोलपत्र स्वीकृत भएको १५ दिनभित्र बाँकी रकम बुझाई सवारी साधन आफ्नो नाममा नामसारी गरिसक्नुपर्नेछ। नामसारी तथा दर्ता सम्बन्धी सम्पूर्ण शुल्क खरिदकर्ता स्वयंले बेहोर्नुपर्ने बैंकले जनाएको छ ।


Back_to_top