काठमाडौं । केरन इलेक्ट्रीक दुईपाँग्रे ब्राण्डको नयाँ ‘केरेन ब्लेज प्रो’ स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ ।
नेपालका लागि केरेन इलेक्ट्रीकको आधिकारिक वितरक इभोक नेपालले आफ्नो लोकप्रिय स्कुटर ब्लेज मोडलको नयाँ प्रो भेरियन्टको बिक्री सुरू गरेको हो ।
कम्पनीले ब्याट्री क्षमता बढाएर नयाँ भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको हो । पहिले २.५२ किलोवाट आवर ग्रोफेन ब्याट्री प्याकमा उपलब्ध ब्लेज अब ३.७ किलोवाट आवरकाे लिथियम आइरन फोसफेट ब्याट्री सिस्टममा आएको हो ।
कम्पनीले नेपाली बजारमा नयाँ केरेन ब्लेज प्रो स्कुटरको मूल्य २ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यद्यपि, कम्पनीले यसअघि २ लाख १९ हजार रुपैयाँमा बिक्री गर्दै आएको पुरानो भेरियन्टको बिक्री कायमै राख्ने वा बन्द गर्ने खुलाएको छैन ।
यसमा प्रयोग भएको ब्याट्रीले १५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने जनाएको छ । ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ३.५ घण्टा समय लाग्छ । ब्लेज प्रोमा के-टेक डिलु हव ड्राइभ मोटर जडान गरिएको छ । यसको टप स्पीड ८५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
ब्लेज प्रो नेपाली बजारमा उच्च रेन्ज, दमदार प्रदर्शन र आकर्षक मूल्यको संयोजन भएको स्कुटरका रूपमा आएको र यसले उत्कृष्ट पावर, सहज एक्सेलेरेशन प्रदान र दैनिक शहरी यात्रा मात्र नभइ लामो दूरीको यात्रालाई समेत सहज बनाउने कम्पनीको भनाइ छ ।
१६० एमएम ग्राउण्ड क्लियरेन्स रहेको ब्लेज प्रोमा सुरक्षाका लागि कम्वाइन्ड ब्रेकिङ सिस्टम सहितको हाइड्रोलिक डिस्क ब्रेक, डिजिटल कलरफुल डिस्प्ले, पर्याप्त स्टोरेज स्पेस तथा के-टेक एलएफपी ब्याट्री, ट्रयाक्सन कन्ट्रोल, अटो होल्ड, रिभर्स मोड लगायतका आधुनिक सुविधाहरू पाइन्छ ।


