नेपाल आउने ‘बी-०३ एक्स’को ब्याट्री र मोटर साइज घोषणा

काठमाडौं । लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले आउँदै गरेको नयाँ कम्प्याक्ट एसयूभी ‘बी-०३ एक्स’को ब्याट्री साइज र मोटर साइज घोषणा गरेको छ ।

कम्पनीले एक टिजर सार्वजनिक गर्दै मोटर १४५ किलोवाट र ब्याट्री ५३ किलोवाट आवरको हुने जानकारी दिएको हो ।

चीनमा ए-१० नामबाट बिक्री हुने एसयूभी नेपालमा भने बी-०३एक्स नामबाट आउने भएको हो । कम्पनीले यसमा फ्रन्ट ह्वील ड्राइभ सिस्टम दिएको छ ।

अन्य बजारमा बी-०३ एक्समा ३९.८ किलोवाट आवर र ५३ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन् । त्यसैले नेपाली बजारमा पनि दुवै ब्याट्री अप्सन उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

यसको ठूलो ब्याट्री भएको भर्सनले करिब ४०० किलोमिटरसम्म रेन्ज दिन सक्ने देखिन्छ । डीसी फास्ट चार्जरबाट ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६ मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ । बी-०३ एक्सको ऊर्जा खपत प्रति १०० किलोमिटर १०.७ किलोवाट आवर रहेको छ ।

आकारका हिसाबले बी-०३एक्सको लम्बाइ ४२७० एमएम छ । यसमा १८ इन्चको एलोय ह्वील दिइएको छ । सस्पेन्सको कुरा गर्दा अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बीम सस्पेन्सन पाउन सकिन्छ ।

इन्टेरियरमा १४.६ इन्चको ठूलो सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन र डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ । मिनिमलिस्ट डिजाइनमा तयार गरिएको केबिनले आधुनिक र प्रविधिमैत्री अनुभव दिने अनुमान छ ।

बाहिरी डिजाइनको कुरा गर्दा कम्प्याक्ट आकार, गोलाकार तथा मैत्रीपूर्ण डिजाइन र सेमी–हिडन डोर ह्याण्डल यसको प्रमुख आकर्षण हुन् ।


Back_to_top