काठमाडौं । होण्डाको हालसालै भारतमा सार्वजनिक गरेको सीबी ५०० मोटरसाइकलको बुकिङ खुला भएको छ ।
होण्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आधिकारिक रूपमा बुकिङ नखुलाए पनि होण्डाका केही बिगविङ डिलरहरूले अनौपचारिक रूपमा बुकिङ लिन थालेका हुन ।
नयाँ मोटरसाइकलप्रति देखिएको उच्च चासो र मागलाई ध्यानमा राख्दै केही डिलरले आफ्नै स्तरबाट अग्रिम बुकिङ लिन थालेका रिपोर्टमा उल्लेख छ । केही दिन अघिमात्रै भारतीय बजारमा पहिलो पटक देखाइएको नयाँ सीबी ५०० मोटरसाइकलको लन्च मिति अहिलेसम्म घोषणा भएको छैन ।
भारतीय मिडिया रिपोर्टअनुसार चार्डपर्व वा नयाँ वर्षमा मात्रै मोटरसाइकलको बिक्री सुरू हुने अपेक्षा गरिएको छ । साथै, मूल्य लगायतका अन्य विषयमा कम्पनीले आगामी महिना रिपोर्ट सार्वजनिक गर्ने सम्भावना रहेको छ ।
होण्डा इन्डियाले आफ्नो सीबी सिरिजको नयाँ फ्ल्यागसिप मोडलका रूपमा बजारमा ल्याउने रेट्रो रोडस्टर डिजाइनमा आधारित होण्डा सीबी ५०० भारतमै विकास भएको हो । यसको उत्पादन पनि भारतकै होण्डा प्लाण्टमा गरिनेछ ।
सीबी ५०० मा क्लासिक रोडस्टर डिजाइनलाई आधुनिक प्रविधिसँग जोडिएको छ । यसमा गोलाकार एलईडी हेडलाइट, टियरड्रप आकारको फ्युल ट्यांक, फराकिलो ह्यान्डलबार र लामो सिंगल-पिस सिट दिइएको छ । मोटरसाइकलको साइड प्रोफाइल सफा र सरल राखिएको छ भने ब्रस्ड मेटल फिनिस, फोर्क गेटर, वायर-स्पोक ह्वील र ट्विन रियर शक अब्जर्बारले यसको पुरानो शैलीलाई बलियो बनाएको देखिन्छ ।
यसको अपस्वेप्ट एक्जस्ट, आकर्षक साइड प्यानल र कम्प्याक्ट टेल डिजाइनले आधुनिक लुक प्रदान गर्छ । होण्डाले सीबी ५०० लाई तीन वटा ह्वील विकल्पमा उपलब्ध गराउने भएको छ । ग्राहकले अलॉय, स्पोक ट्युबलेस र स्पोक ट्युबलेस विथ ग्राफिक्स गरी तीन भेरियन्ट रोज्न सक्नेछन् ।
होण्डा सीबी ५०० को सबैभन्दा ठूलो विशेषता यसको नयाँ ५०१ सीसी एयर र आयल कुल्ड सिंगल सिलिण्डर इन्जिन हो । यो इन्जिनले २७.७६ बीएचपी पावर र ४३.३ एनएम टर्क उत्पादन गर्छ । यसमा असिस्ट एन्ड स्लिपर क्लच पनि दिइएको छ । होण्डाले मोटरसाइकलमा लो–रेभ र मिड-रेन्ज टर्क तथा आरामदायी राइडिङ अनुभवलाई प्राथमिकता दिएको छ ।
होण्डा रोडसिंक स्मार्टफोन कनेक्टिभिटी, एनालग डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फुल एलईडी लाइटिङ, होण्डा सेलेक्टेबल टर्क कन्ट्रोल, दुवै पाङ्ग्रामा डिस्क ब्रेक र डुअल च्यानल एबीएस जस्ता फिचरहरू उपलब्ध हुनेछन् । मोटरसाइकलले क्लासिक डिजाइन, आरामदायी राइडिङ पोस्चर र भरपर्दो टर्की इन्जिनमार्फत ग्राहक आकर्षित गर्ने अनुमान गरिएको छ ।


