सेनाले बनायो १४११ किलोमिटर सडक

फाइल तस्बिर ।

काठमाडौं । देशको आन्तरिक तथा बाह्य सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा गर्ने, विपद व्यवस्थापन, प्रकृति संरक्षण गर्ने जिम्मा पाएको नेपाली सेनाले पछिल्लो सयम सडक पूर्वाधार निर्माणमा ठूलो योगदान गर्दै आएको छ ।

भौगोलिक रूपमा कठिन र चुनौतीपूर्ण क्षेत्रमा सडक बनाउने काममा सेना ‘फ्रन्टलाइन’मा रहँदै आएको हो । भीर, पहाड, ठूला चट्टान काटेर सडक निर्माण गर्नुपर्ने ठाउँमा सेनाको विकल्प छैन ।

सरकारले सडक विभागले निर्माण गर्न नसकेको अप्ठ्यारो खण्डको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिँदै आएको छ । हालसम्म सेनाले देशभर कठिन मानिएका ३२ वटा सडकको १ हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ ।

सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट-डोल्पा, बेँसीसहर-चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोर लगायत आयोजना सम्पन्न भइसकेका छन् ।

हाल सेनाले काठमाडौं-मधेश/तराई द्रुतमार्ग (फास्ट ट्रयाक), कर्णाली करिडोर, कोशी करिडोर, दार्चुला-तिंकर, बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ लगायत सडक निर्माण गरिरहेको छ ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेत सीमित स्रोतसाधन, प्रतिकूल मौसम तथा जटिल भूबनावटको बाबजुद सेनाले यस्ता राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गर्नुका साथै वार्षिक ‘माइलस्टोन’ शतप्रतिशत पूरा गर्दै राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याइरहेको बताउँछन् ।

खाँदबारी-किमाथाङ्का (च्याम्ताङ्ग-घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत सेनाले १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरेको छ । यस आयोजनाले किमाथाङ्का क्षेत्रमा स्थानीय विकास तथा भविष्यमा व्यापारिक गतिविधि प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

हाल सेनाले मुख्यगरी कर्णाली करिडोर, दार्चुला-तिंकर र बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ गरी तीन सडकमार्ग निर्माण गरिरहेको छ । महाकाली करिडोरअन्तर्गत दार्चुला-तिंकर (तुषारपानी-तिंकर) सडक आयोजना क्षेत्रमा ७९ किलोमिटर सडक निर्माणको कार्य हुँदै आएको छ ।

अत्यन्त कठिन हिमाली भूभाग, कडा चट्टानयुक्त भिर तथा प्रतिकूल मौसमका बाबजुद १९.८० किलोमिटर सडक निर्माण गरी आर्थिक वर्ष २०८२/८३ को शतप्रतिशत कार्य सम्पन्न भएको सेनाले जनाएको छ । हालसम्म उक्त आयोजनाको भौतिक प्रगति २५.०६ प्रतिशत छ ।

बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक आयोजनाले मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटर जिम्मेवारी क्षेत्रमध्ये हावाडाँडा-दोभान सडक खण्ड (१८ किमी) निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । आव २०८२/८३ सम्म सो आयोजनाको ४०.८ किमी (४४.३५ प्रतिशत) भौतिक प्रगति हासिल भएको छ ।

त्यस्तै, राष्ट्रिय गौरवको आयाजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग निर्माणको व्यवस्थापन गर्दै आएको छ । १३ प्याकेजमा विभाजन गरी निर्माण भइरहेको फास्ट ट्रयाकको भौतिक प्रगति करिब ४९ प्रतिशत पुगेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोर सेनाले निर्माण गरिरहेको प्रमुख सडक आयोजना हो । हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहासम्म फैलिएको ६८२ किलोमिटर लामो सो करिडोरअन्तर्गत लालीबगर-दुल्लिकुन्ना तथा घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला गरी २२.०५ किलोमिटर सडक सेनाले निर्माण गर्दै आएको छ ।

लालीबगर-दुल्लिकुन्ना खण्डको ट्र्याक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ । घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा निर्माण जारी छ । आव २०८२/८३ सम्म १९ किलोमिटर सडक निर्माण गरी शतप्रतिशत कार्य सम्पन्न गरेको छ । समग्रमा हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ८६.१७ प्रतिशत हासिल भएको छ ।

कर्णाली करिडोरले राष्ट्रिय सडक सञ्जालसँग हुम्लालाई जोड्नका लागि नेपाली सेनाले हिल्सा-सिमकोट सडकखण्डको खार्पुनाथ गाउँपालिका-५ स्थित चुवाखोलामा गत आसार २२ गते बेलिब्रिज जडान गरेको थियो । त्यसबाट कर्णालीको हुम्लालाई राष्ट्रिय सडक संजालसँग जोड्दै राष्ट्रको आर्थिक तथा सामरिक महत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

ती आयोजनाको मूल उद्देश्य दुर्गम तथा रणनीतिक महत्वका सडकखण्ड निर्माण गरी राष्ट्रिय सडक सञ्जाल विस्तार गर्नु तथा सामाजिक, आर्थिक विकास र राष्ट्रिय सुरक्षालाई दीर्घकालीन रूपमा सुदृढ बनाउनु हो । दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै आर्थिक, सामाजिक, सामरिक तथा रणनीतिक दृष्टिले राष्ट्रलाई दीर्घकालीन लाभ पुर्याएको सेनाले जनाएको छ ।


Back_to_top