काठमाडौं । चिनियाँ अटोमोबाइल बजारमा क्रमशः लयमा फर्किन थालेको छ । सन् २०२६ लागेदेखि लगातार सुस्ताएको अटो बजारमा गत महिनादेखि सुधारोन्मुख भएको हो ।
सन् २०२६ जुलाईमा पनि अधिकांश ठूला ब्राण्डको बिक्रीमा सुधार देखिएको छ । जुलाईमा बीवाइडीले आफ्नो अग्रता कायमै राखेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यो महिना ४ लाख १९ हजार २११ युनिट गाडी बिक्री गरेको छ । जुन यो वर्षकै धेरै हो ।
गत वर्ष जुलाईकोे तुलनामा बीवाइडीको बिक्री २१.६७ प्रतिशत र अघिल्लो महिनाको तुलनामा ३.९० प्रतिशत धेरै हो ।
बीवाइडीलाई पछ्याउँदै चेरी ग्रुप दोस्रो स्थानमा रहेको छ । जुलाईमा चेरीले २ लाख ७६ हजार ८२० युनिट गाडी बिक्री गरेको छ । गत वर्ष सोही अवधिको तुलनामा चेरीको बिक्री २३.३ प्रतिशतले बढेको हो ।
तेस्रोमा जिली अटोले २ लाख ५० हजार १६१ युनिट गाडी बिक्री गर्न सफल भएको छ । जिलीको बिक्री गत वर्षको जुलाईको तुलनामा ५.२३ प्रतिशत र अघिल्लो महिनाको तुलनामा ३.८९ प्रतिशत धेरै हो ।
चौथो स्थानमा एसएआइसी जीएम वुलिङ रहेको छ । कम्पनीले जुलाईमा १ लाख २० हजार ५० युनिट गाडी बेच्न सफल भएको छ ।
पाँचौंमा स्टार्टअप कम्पनी लीपमोटर रहेको छ । कम्पनीले जुलाईमा १ लाख १ हजार २६७ युनिट कार बिक्री गरेको छ । कम्पनीले इतिहासमै पहिलोपटक महिनामै १ लाख गाडी बिक्री गरेको हो । गत वर्षको तुलनामा लीपमोटरको बिक्री १०२.०१ प्रतिशत धेरै हो ।
छैटौंमा हुवावे हिमाले ४५ हजार ४६ युनिट गाडी बेच्न सफल भएको छ । यसको भने बिक्रीमा ४.९२ प्रतिशत गिरावट आएको छ ।
एक्सपेङको बिक्री ३.५७ प्रतिशत बढेर ३८ हजार २७ युनिट पुगेको छ । यद्यपि, जुन महिनाको तुलनामा एक्सपेङको बिक्री ५.२३ प्रतिशतले घटेको छ ।
लग्जरी ब्राण्ड जिकरको बिक्रीमा १११.०९ प्रतिशतको उछाल आएको छ । कम्पनीले जुलाईमा ३५ हजार ८३७ युनिट गाडी बिक्री गरेको छ ।
नियोले जुलाईमा ३५ हजार ९३४ युनिट कार डेलिभरी गरेको छ । गत वर्ष जुलाईको तुलनामा नियोको बिक्री ७०.९८ प्रतिशतले बढेको हो ।
लि अटोले जुलाईमा ३० हजार ४६८ युनिट कार डेलिभरी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ०.८६ प्रतिशत र अघिल्लो महिनाको तुलनामा १.३८ प्रतिशत कम हो ।
प्रिमियम ब्राण्ड साओमीले लगातार चौथो महिना ३० हजार युनिट गाडी डेलिभरी गरेको छ । त्यस्तै, दीपलले २९ हजार २१३ युनिट, आरफक्स २५ हजार ७४ युनिट, भोहा १३ हजार १८९ युनिट, अवतार ७ हजार ६२६ युनिट गाडी बिक्री गरेका छन् ।


