विल्कुलै नयाँ एसयूभी ल्याउँदै महिन्द्रा, हाइब्रिडमा उपलब्ध हुने

काठमाडौं । भारतीय अटोमोबाइल निर्माता महिन्द्राले आफ्नो विल्कुलै नयाँ कम्प्याक्ट एसयूभी ‘भिजन एक्स’को पेटेन्ट दर्ता गराएको छ।

कम्पनीले नयाँ ‘एनयू आइक्यू’ फ्लेक्सिबल मोडुलर प्लेटफर्ममा आधारित ४ वटा एसयूभीहरू ल्याउने तयारी गरिरहेको छ । सोही क्रममा भिजन एक्स उत्पादनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

दर्ता गरिएको पेटेन्टले नयाँ कम्प्याक्ट एसयूभीको बाहिरी डिजाइन कम्पनीले १ वर्षअघि प्रदर्शन गरिएको कन्सेप्ट मोडलसँग मिल्दोजुल्दो देखिन्छ । मिडिया रिपोर्ट अनुसार यो नयाँ भिजन एक्स कन्सेप्टमा आधारित मोडल आगामी नयाँ पुस्ताको महिन्द्रा एक्सयूभी थ्रीएक्सओको रूपमा आउन सक्छ ।

नयाँ एनयू आइक्यू प्लेटफर्ममा फरक फरक इन्जिन÷पावरट्रेनका गाडी उत्पादन हुनेछ । साथै यस प्लेटफर्ममा बन्ने गाडी फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ हुनेछन् ।

यो प्लेटफर्म ३९९० एमएमदेखि ४३२०एमएमसम्म लम्बाइ भएका एसयूभीहरू निर्माण गर्न प्रयोग गरिनेछ । नयाँ एसयूभीमा आकर्षक स्पोट्र्स र क्रसओभर डिजाइनका साथै अग्लो बनावट र उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ।

यसका केही डिजाइन विवरणहरू बीई सिक्स कुपे एसयूभीसँग मिल्दाजुल्दा छन् । जसमा आकर्षक बोनेट, कुपे शैलीको पछाडिको सिसा र स्पोइलर सामेल छन्। कन्सेप्ट मोडलमा महिन्द्राको ट्विन पिक्स लोगो थियो । जसले यो गाडी एक्सयूभी परिवारकै हिस्सा हुने संकेत गर्छ।

नयाँ एसयूभीको लाइटिङ पाट्र्स र फग ल्याम्प क्लस्टर महिन्द्रा एक्सईभी नाइन ईबाट प्रभावित देखिन्छन् । यसमा स्क्वायर ह्वील आर्च, गाडीको वरिपरि कालो क्ल्याडिङ, फ्लस फिटिङ ह्याण्डलहरू र ढोकामा आकर्षक रेखा दिइएका छन् ।

महिन्द्राले नयाँ एनयू आइक्यू प्लेटफर्म हाइब्रिड इन्जिनका लागि पनि उपर्युक्त रहेको पुष्टि गरेको छ। कम्पनीले १.२ लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिन प्रयोग गरेर एउटा बलियो इन्जिन बनाउन काम गरिरहेको बताइएको छ ।

भिजन एक्समा आधारित यो कम्प्याक्ट एसयूभीमा यही नयाँ हाइब्रिड इन्जिन उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ। साथै इलेक्ट्रीक मोडल पनि आउने सम्भावना छ।

नयाँ महिन्द्रा भिजन एक्स सन् २०२७ को अन्त्यतिर वा २०२८ को सुरुतिर बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ।


Back_to_top