काठमाडौं । नेपालमा सर्वाधिक कार बिक्री गर्ने ब्राण्ड बीवाइडीले आगामी अटो शोलाई लक्षित गर्दै नयाँ प्रोडक्ट बजारमा ल्याउने भएको छ । बीवाइडीको लागि नेपालको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले आफ्नो ३ मोडलमा अपग्रेड गरेर बजारमा ल्याउने भएको हो ।
कम्पनीले साउन २६ गतेबाट सुरु हुने नाइमा मोविलिटी एक्स्पोमा २०२६ एटो थ्री मोडल सार्वजनिक गर्न लागेको छ । साइमेक्स इंकले नयाँ एटो थ्रीमा के के परिवर्तन भएर आउन लागेको छ भन्ने विषयमा जानकारी दिएको छैन । तर, केही परिमार्जनसहित २०२६ एटो थ्री बजारमा आउने पक्का भएको कम्पनीले जनायो ।
‘बजारको माग अनुसार अपग्रेड भएका मोडल ल्याउने योजना हो । त्यसमा सर्वाधिक सफल एटो थ्री छुट्ने कुरै भएन । केही परिमार्जन सहित एटो थ्री नाइमा मोविलिटी एक्स्पोमा सार्वजनिक हुनेछ’, साइमेक्स श्रोतले भन्यो ।
त्यसैगरी, एटो वानमा पनि केही परिमार्जन भएर आउन लागेको छ । यसमा केही अत्यावश्यक फिचरहरु थपिन लागेका हुन् । साथै, यसको ड्यसाबोर्डमा पनि परिमार्जन हुनेछ ।
कम्पनीले आगामी नाडा अटो शोसम्ममा बीवाइडी एटो टुमा पनि परिमार्जन गर्न लागेको छ । कम्पनीले एटो टुमा पनि केही फिचरहरु थप्न लागेको हो । अहिलेको सर्वाधिक सफल मोडल एटो टु सम्भवत ४५ किलोवाट आवर क्षमताको ब्याट्रीमा पनि उपलब्ध हुनेछ ।
अहिले बजारमा रहेको ५१ किलोवाटको ब्याट्रीसँगै सानो ब्याट्रीमा पनि एटो टु उपलब्ध गराउने तयारीमा साइमेक्स इंक जुटेको छ । सानो ब्याट्रीमा आउँदा नयाँ भेरियन्टको मूल्य अहिलेको भन्दा कम हुनेछ ।
यी तीन वटै मोडलमा कम्पनीले परिमार्जन गर्दै बजारमा ल्याउने तयारी गरेको हो । यसले नयाँ एटो सिरिज किन्ने उपभोक्तालाई केही थप फिचर अफर गर्दै आफुलाई बजारमा अझै बलियो बनाउने बटो साइमेक्स इंकले समाउन खोजेको देखिन्छ ।


