मिनी रेन्ज रोभर देखिने ‘जे-फाइभ’मा थपिँदै भेरियन्ट

काठमाडौं । नेपाली बजारमा अघिल्लो वर्ष अटो शोमा मिनी रेन्ज रोभर जस्तै देखिने जेको जे-फाइभ सार्वजनिक भएको थियो । उपभोक्ताले यसलाई मनपराएपछि सुरुवती दिनमा निकै राम्रो संख्यामा आयात भएको थियो । तर, पछि बिस्तारै यसको आयात खुम्चियो ।

जेको जे-फाइभको आयात खुम्चनुमा मुख्य कारण सप्लाई रहेको आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइल्सले जनाएको छ । कम्पनीका अनुसार माग अनुसार उत्पादन नहुँदा गाडी ल्याउन सकिएको थिएन ।

कम्पनीले अघिल्लो वर्षको मोबिलिटी एक्स्पोमा बिक्री थाल्दा ६० लाख ९९ हजार मूल्य तोकेर त्यसमा अफर भन्दै ४ लाख रुपैयाँ छुट दिएको थियो । कम्पनीले त्यतिबेला ५६ लाख ९९ हजार रुपैयाँमा उपभोक्तालाई गाडी दिएको थियो । पछि, ५६ लाख ९९ हजारलाई नै बिक्री मूल्य तोकेको हो ।

कम्पनीले एक वर्षभन्दा कम समयमा २१२ युनिट जे-फाइभ नेपाल ल्याएको तथ्यांकमा देखिन्छ । बीचमा केही समय उपलब्ध नभएको जे-फाइभ अटो एक्स्पोबाट बिक्रीको लागि उपलब्ध हुनेछ ।

थपिदै नयाँ भेरियन्ट

जे-फाइभमा नयाँ भेरियन्ट थप गर्ने योजना एसपीजी अटोमोबाइल्सले बनाएको छ । कम्पनीले पहिलोकोभन्दा सानो ब्याट्री साइजमा जे फाइभ ल्याउन लागेको हो ।

आगामी चाडपर्वको मुखमा बिक्री गर्नेगरी सानो साइजको ब्याट्रीमा जे-फाइभ उपलब्ध हुनेछ । नयाँ जे-फाइभमा ५०.७ किलोवाट आवरको ब्याट्री रहने बताइएको छ । साथै, यसमा १५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर हुनेछ ।

यसअघि नेपालमा बिक्री भएको जे-फाइभमा ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री थियो । मोटर भने समान १५५ किलोवाटकै थियो । यो ईभीको पीकटर्क भने २८८ न्यूटन मिटर छ ।

अहिले सानो ब्याट्रीमा उपलब्ध हुने जे-फाइभको अन्य फिचर र मूल्यको विषयमा कुनै जानकारी बाहिर आएको छैन । त्यसको लागि अझै केही दिन कुर्नु पर्ने हुन्छ ।


Back_to_top