काठमाडौं । युरोपेली बजारमा चिनियाँ विद्युतीय सवारी (ईभी) ब्राण्डप्रति अझै केही शंका र सतर्कता कायम रहे पनि नयाँ सर्वेक्षणले टेस्लाका प्रमुख कार्यकारी एलन मस्कको राजनीतिक गतिविधिले उपभोक्ताको धारणा झन् बढी प्रभावित गरेको देखाएको छ ।
जुलाई २०२६ मा सार्वजनिक गरिएको इलेक्ट्रीक भेहिकल इन्टेलिजेन्स रिपोर्ट अनुसार युरोपेली संघ (ईयू) का २७ वटै सदस्य राष्ट्रका १ हजार ८६१ उपभोक्तामाझ गरिएको सर्वेक्षणमा ३९ प्रतिशत सहभागिले मस्कका कारण टेस्लाप्रति आफ्नो धारणा नकारात्मक बनेको बताएका छन् ।
सर्बेमा सहभागि मध्ये केबल १३ प्रतिशतले मात्रै मस्कको संलग्नताले टेस्लाप्रति आफ्नो धारणा सकारात्मक बनाएको बताए । करिब ३५ प्रतिशतले भने कुनै प्रभाव नपरेको प्रतिक्रिया दिएका छन् ।
रिपोर्टअनुसार मस्कको व्यक्तिगत छविभन्दा उनको राजनीतिक गतिविधि झन् ठूलो चुनौती बनेको छ । सर्वेमा सहभागीलाई मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गरेको आर्थिक सहयोग र समर्थनबारे जानकारी गराउँदा मस्कको ‘नेट फेभरेबिलिटी’ स्कोर माइनस ३१ बाट माइनस ४७ मा झरेको थियो ।
उक्त जानकारीपछि टेस्लाको ब्राण्ड ‘फेभरेबिलिटी स्कोर’ माइनस ४२ र खरिद गर्ने सम्भाव्यता माइनस ४० मा पुगेको थियो । रिपोर्टले यसलाई टेस्लाका लागि सर्वेक्षणकै सबैभन्दा नकारात्मक निष्कर्षका रूपमा उल्लेख गरेको छ ।
अर्कोतर्फ, चिनियाँ ईभी निर्माता बीवाइडीको चिनियाँ सरकारसँगको सम्बन्धलाई पनि केही उपभोक्ताले नकारात्मक रूपमा हेरेका छन् । सर्वेक्षणमा २५ प्रतिशत उत्तरदाताले यस्तो सम्बन्धले बीवाइडी प्रतिको धारणा कमजोर बनाएको बताए । तर, १२ प्रतिशतले भने यही कारण आफ्नो धारणा सकारात्मक बनेको बताए । यस आधारमा बीवाइडीको ‘नेट फेभरेबिलिटी स्कोर’ माइनस १३ रहेको छ । जुन मस्कसँग जोडिएको नकारात्मक प्रभावको लगभग आधा मात्रै हो ।
सर्वेक्षणले युरोपेली उपभोक्ता चिनियाँ कारप्रति पूर्ण रूपमा नकारात्मक छन् भन्ने धारणालाई चुनौती दिएको छ । रिपोर्टअनुसार चिनियाँ सरकारी प्रभाव अझै एक महत्वपूर्ण चिन्ता भए पनि टेस्लाको नेतृत्व शैली र मस्कका राजनीतिक सम्बन्धले उपभोक्तामा अझ ठूलो प्रभाव पारिरहेको देखिन्छ ।
मस्कप्रतिको धारणा ईयूका प्रमुख सबै बजारमा नकारात्मक देखिएको छ । पोल्याण्डमा उनको फेभरेबिलिटी स्कोर माइनस १७ रहेको छ । नेदरल्यान्ड्समा माइनस ४८ पुगेको छ । जर्मनीमा यो माइनस ४२ र फ्रान्समा माइनस ४१ रहेको छ । समग्रमा ५८ प्रतिशत उत्तरदाताले मस्कबारे नकारात्मक धारणा राखेका छन् । २७ प्रतिशतले सकारात्मक धारणा व्यक्त गरेका छन् ।
उपभोक्ताको यस्तो धारणा हुँदाहुँदै पनि टेस्लाको युरोपेली बिक्रीमा सुधार देखिन थालेको छ । रोयटर्सका अनुसार प्रोत्साहन योजना, इन्धनको मूल्य वृद्धि र अघिल्लो वर्षको कमजोर आधारका कारण टेस्लाका सवारी दर्ता संख्या पुनः बढ्न थालेको हो ।
जुलाईमा फ्रान्समा टेस्लाको दर्ता ८६ प्रतिशत र डेनमार्कमा ५२ प्रतिशतले बढेको थियो । तर, नर्वेमा ९७ प्रतिशत, स्पेनमा ८१ प्रतिशत, इटालीमा ७७ प्रतिशत, पोर्चुगलमा ६९ प्रतिशत र स्विडेनमा ६० प्रतिशतले गिरावट आएको थियो ।
चिनियाँ कम्पनी बीवाइडी भने युरोपमा तीव्र रूपमा विस्तार भइरहे पनि अझै टेस्लाजति परिचित बनिसकेको छैन । तर, समान मूल्यका टेस्ला र बीवाइडी गाडीमध्ये छनोट गर्न लगाउँदा २९ प्रतिशत उत्तरदाताले टेस्ला रोजेका थिए भने २७ प्रतिशतले बीवाइडीलाई प्राथमिकता दिए ।
रोचक कुरा के भने ईभी खरिदबारे छलफल गरिरहेका उपभोक्तामाझ बीवाइडी ४० प्रतिशत समर्थनसहित टेस्ला (३६ प्रतिशत) भन्दा अगाडि देखिएको छ । (इनसाइड ईभीबाट)


