टप १० कार निर्मातामा तीन चिनियाँ ब्राण्ड, अन्य ब्राण्ड कहाँ ?

काठमाडौं । सन् २०२६ को पहिलो छ महिनामा विश्वका ठूला कार निर्माता भित्र ३ चिनियाँ कम्पनी परेका छन् । टप ५ भित्र भने कुनै पनि चिनियाँ कम्पनी अटाएनन् ।

बजार हिस्साका आधारमा शीर्ष १० कार निर्मातामा बीवाइडी, जिली होल्डिङ ग्रुप र चेरी ग्रुप अटाएका हुन् । चिनियाँ एसएआइसी ग्रुप भने ११ औं स्थानमा रहन सफल भयो ।

विश्व बजारमा टोयोटाले आफ्नो वर्चस्व कायम राखेको छ । ११ प्रतिशत बजार हिस्सासहित टोयोटा पहिलो स्थानमा छ । फक्सवागेन ग्रुप ८.१ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमै कायम देखियो ।

तेस्रो स्थानमा दक्षिण कोरियाली ब्राण्ड हुन्डाई–किया समूह ७.६ प्रतिशत बजार हिस्सासहित बलियो देखियो । धेरै बजार हिस्सा भएको ब्राण्डको सूचीमा चौथो स्थान ६ प्रतिशत बजार हिस्सा सहित युरोपियन मोटर ग्रुप स्टेलान्टीसले लिन सफल भएको छ ।

सन् २०२६ को आधा वर्षमा रेनो-निसान एलायन्सले ५.४ प्रतिशत बजार हिस्सा ओगट्दै पाँचौ स्थानमा आफुलाई उभ्यायो । बीवाइडीले ४.८ प्रतिशत बजार हिस्सा सहित छैटौं स्थान हासिल गर्यो ।

जिली होल्डिङ ग्रुप सातौं स्थानमा पर्न सफल भयो । जिलीको बजार हिस्सा ४.६ प्रतिशत छ । त्यसैगरी, आठौ स्थानमा अमेरिकी जनरल मोटर्स र नवौं स्थानमा चिनियाँ कम्पनी चेरी परेको छ । जनरल मोटर्सको बजार हिस्सा ४.५ प्रतिशत र चेरीको बजार हिस्सा ४.१ प्रतिशत छ ।

१० औं स्थानमा अमेरिकी कम्पनी फोर्ड पर्न सफल भएको छ । फोर्डको बजार हिस्सा ४.१ प्रतिशत नै छ ।

अन्य चिनियाँ ब्राण्ड बढ्दै

शीर्ष १० भित्र प्रवेश गर्न नसके पनि अन्य चिनियाँ कम्पनी एसएआईसी ३.७ प्रतिशत बजार हिस्सासहित ११औं स्थानमा छ । चांगान ग्रुप १.९ प्रतिशत बजार हिस्सासहित १७ औं र ग्रेट वाल मोटर्स १.८ प्रतिशत हिस्सासहित १८ औं स्थानमा छन् । त्यस्तै बीएआईसी १.२ प्रतिशत बजार हिस्सासहित २१ औं तथा डोङफेङ १.१ प्रतिशत हिस्सासहित २३ औं स्थान रहन सफल भएका छन् ।

कहाँ छन् भारतीय कम्पनी ?

इन्डो-जापानी ब्राण्ड मारुती सुजुकी यो सूचीमा १२ औं स्थानमा देखिन्छ । उसको बजार हिस्सा ३.७ प्रतिशत छ । भारतकै सबैभन्दा ठूलो सवारी साधन निर्माता टाटा १.६ प्रतिशत बजार हिस्सा सहित १९ औं स्थानमा पर्न सफल भएको छ ।

विश्व बजारमा १.१ प्रतिशत बजार हिस्सा सहित भारतीय एसयूभी एक्सपर्ट महिन्द्रा २२ औं स्थानमा पर्न सफल भएको छ ।


Back_to_top