नयाँ टियागो ईभी नेपालमा, अर्को साता बिक्री सुरू हुने

काठमाडौं । सिप्रदी ट्रेडिङले फेसलिफ्ट टाटा टियागो ईभी नेपाल भित्र्याएको छ। भारतमा करिब तीन महिना अघि सार्वजनिक गरिएको नयाँ टियागो ईभी अब नेपालमा पनि बिक्रीका सुरु हुन लागेको हो ।

टाटाको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाइमा नेपाल मोबिलिटी एक्स्पोबाट यसको औपचारिक बिक्री सुरु गर्ने योजना बनाएको स्रोतले जनाएको छ ।

नेपालको विद्युतीय सवारी बजारमा प्रवेश गरेदेखि नै लोकप्रिय बनेको टियागो ईभीको फेसलिफ्ट संस्करण डिजाइन, प्रविधि र सुविधामा उल्लेख्य सुधार भएर आएको छ । विशेषगरी सहर केन्द्रित किफायती ईभी खोज्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले नयाँ मोडल ल्याएको हो ।

फेसलिफ्ट टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री प्याक प्रयोग गरिएको छ । यसमा ५५ किलोवाट क्षमताको विद्युतीय मोटर छ । उक्त मोटरले ११४ एनएम टर्क उत्पादन गर्छ ।

नयाँ टियागो ईभीमा अपडेट गरिएको डिजिटल ककपिट, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र मल्टि–फङ्सन स्टेयरिङ जस्ता सुविधा समावेश छन् । साथै, नयाँ अपहोल्स्ट्री र परिमार्जित इन्टेरियर डिजाइनले क्याबिनलाई थप आधुनिक बनाएको छ ।

सुरक्षाको लागि डुअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।

नेपालमा किफायती मूल्य र स्थापित सर्भिस नेटवर्कका कारण टाटा ब्रान्डप्रति ग्राहकको आकर्षण उच्च रहेको छ । यही कारण फेसलिफ्ट टियागो ईभीले पनि नेपाली बजारमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिप्रदीले कति मूल्य राखेर बजारमा ल्याउँछ भन्ने धेरैको चासो छ ।


Back_to_top