आजदेखि बिक्री सुरू हुँदै कम मूल्यका दुई ईभी, तपाईंको रोजाइ कुन ?

काठमाडौं । आजदेखि बजारमा दुई इलेक्ट्रीक एसयूभी थपिने भएको छ । टाटा मोटर्सको नयाँ पन्च ईभी र लीपमोटरको बी-०३ एक्स मोडल थपिन लागेको हो ।

यी दुवै एसयूभी ‘सेप’का मोडल हुन् । उच्च ग्राउण्ड क्लियरेन्स, फिचर प्याक र उत्कृष्ट ह्याडलिङ सहित यी दुई मोडल बजारमा प्रवेश गर्न लागेको हो ।

टाटा पन्च नेपाली बजारको लागि नयाँ नाम होइन । सिप्रदीले निकै राम्रो संख्यामा बिक्री गरिसकेको पन्च ईभी ब्याट्री साइज बढेर आउन लागेको हो । यसले लामो रेन्ज चाहिने उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्नेछ ।

लीपमोटर बी–०३ एक्स मोडल विल्कुलै नयाँ उत्पादन हो । नेपाली बजारमा उपलब्ध बीवाइडी एटो-टुको साइजमा आउने यो एसयूभीको मूल्य, फिचर र रेन्जलाई हेर्दा राम्रै मूल्यमा उपलब्ध हुने अनुमान छ ।

सिप्रदी ट्रेडिङले पन्च ईभी र साँग्रिला मोटर्सले बी-०३ एक्सको मूल्य कति निर्धारण गर्छन् भन्ने कुरा अहिले अटोमोबाइल वृत्तमा खुबै चर्चा छ ।

टाटा पन्च ईभी

टाटा मोटर्सले पन्च ईभीको फेसलिफ्ट मोडललाई नयाँ डिजाइन, ठूलो ब्याट्री र थप फिचरसहित बजारमा उतारेको हो । यसको अगाडिको डिजाइन, पछाडिको लाइट, ड्यासबोर्ड लगायतका कुरामा परिमार्जन भएको छ ।


नयाँ पन्च ईभीमा अघिल्लो मोडलको तुलनामा ठूलो ब्याट्री प्याक प्रयोग गरिएको छ । फेसलिफ्ट संस्करण ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा पाउन सकिन्छ ।

यसअघि पन्च ईभीमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सन थियो । दुवै भेरियन्टमा ५ किलोवाट आवर ब्याट्री बढेको हो । फेसलिफ्ट पन्चमा डीसी चार्जरको क्षमता पनि बढेको छ । नयाँ मोडलमा ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ ।

पन्च ईभीमा टाटाका ठूला विद्युतीय एसयूभीबाट प्रेरित १६ इन्चको एरो अप्टिमाइज्ड अलोय ह्वील प्रयोग गरिएको छ ।

इन्टेरियरमा ड्यासबोर्ड डिजाइनलाई निरन्तरता दिइए पनि नयाँ ट्रिम फिनिस र अपडेटेड डुअल टोन कलर थिम थप भएको छ । यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रीन र १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ ।

भेरियन्ट अनुसार वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार प्रविधि र ३६० डिग्री क्यामेरा जस्ता फिचर उपलब्ध छन् ।

सुरक्षातर्फ ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउण्ट र हाइ बिम असिस्ट लगायतका फिचर छन् ।

बी ०३ एक्स

लीपमोटर बी ०३ दैनिक उपयोगिता र आधुनिक इलेक्ट्रीक कार्यक्षमताको उत्कृष्ट संयोजन गर्ने गरी डिजाइन गरिएको छ । यसमा १४५ किलोवाटको इलेक्ट्रीक मोटर र ५३ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा रहेको ब्याट्रीले एकपटकको फुलचार्जमा ५०५ किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।


डीसी फास्ट चार्जरबाट ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६ मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ । बी ०३ एक्सको ऊर्जा खपत प्रति १०० किलोमिटर १०.७ किलोवाट आवर रहेको छ ।

यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो क्याबिन रहेको छ । यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २६०५ एमएम छ । यसमा १८ इन्चको एलोय ह्वील दिइएको छ । यसको अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बीम सस्पेन्सन पाउन सकिन्छ ।

इन्टेरियरमा १४.६ इन्चको ठूलो सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रीन र डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ । मिनिमलिस्ट डिजाइनमा तयार गरिएको क्याबिनले आधुनिक र प्रविधिमैत्री अनुभव दिने अनुमान छ ।

बाहिरी डिजाइनको कुरा गर्दा कम्प्याक्ट आकार, गोलाकार तथा मैत्रीपूर्ण डिजाइन र सेमी-हिडन डोर ह्याण्डल यसको प्रमुख आकर्षण हुन् ।


Back_to_top