काठमाडौं । काठमाडौं उपत्यकामा मास ट्रान्जिट सार्वजनिक यातायात संचालनका लागि रत्नपार्कदेखि भक्तपुरसम्म १४.६ किलोमिटर मेट्रोरेल बनाउन प्रस्ताव गरिएको छ ।
पूर्वाधार विकास मन्त्रालय र जापानी सहयोग नियोग (जाइका)ले तयार पारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’मा यस्तो प्रस्ताव गरिएको हो ।
मास्टर प्लानमा सन् २०५० सम्म काठमाडौं उपत्यकामा बढ्ने यात्रुचापलाई मध्येनजर गर्दै उक्त रेल बनाउन प्रस्ताव गरिएको हो ।
गुरुयोजना अनुसार काठमाडौं उपत्यकामा मास ट्रान्जिट सार्वजनिक यातायात संचालनका लागि तीन रुट उपयुक्त हुनेछ । जसमा चक्रथप, र पूर्व-पश्चिम र उत्तर-दक्षिण रुट रहेका छन् । तीमध्ये पूर्व-पश्चिम (रत्नपार्क-भक्तपुर) रुपमा मेट्रोरेल संचालन गर्न उपयुक्त देखिएको छ । यो मास्टर प्लानमा आयोजनालाई पूर्व सम्भाव्यता अध्ययनका लागि प्राथमिकतामा राखिएको छ ।
१४.६ किमी लामो रेलमार्ग कतै जमिन माथि र कतै जमुनि मुनि निर्माण गर्ने प्रस्ताव गरिएको छ । काठमाडौंको भित्री सहरी इलाका र जडिबुटीरकोटेश्वर खण्डमा अण्डरग्राउण्ड रुटबाट मेट्रो संचालन गर्ने योजना मास्टर प्लानमा समेटिएको छ ।
सो मेट्रोरेललाई विभिन्न स्थानमा बस र्यापिड ट्रान्जिटसँग एकीकृत गर्दै सुरक्षित र सर्वसुलभ सार्वजनिक यातायात विकासको लक्ष्य राखिएको छ ।
चक्रथपमा बस र्यापिड ट्रान्जिट बनाएर सार्वजनिक यातायात संचालनको प्रस्ताव गरिएको छ । उच्च यात्रु क्षमताका सार्वजनिक बसलाई डेडिकेटेड लेनमा संचालनको योजना छ ।
जाइकाले यसअघि पनि उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, सुरक्षित, भरपर्दो र छिटो बनाउन ३ वटा मास्टर प्लान बनाएको थियो । सन् १९९३, सन् २०१२ र २०१७ बनाएका मास्टर प्लान कार्यान्वयनमा आएनन् । तर, अहिले बनाएको मास्टर प्लान मन्त्रिपरिषद्बाटै स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्नेमा जाइकाले जोड दिएको छ ।
मास्टर प्लानमा काठमाडौंको यातायात प्रणाली व्यवस्थापन तथा सुधारका लागि २२ वटा पूर्वाधार योजना प्रस्ताव गरिएको छ । जसमा भूमिगित सुरुङ, अण्डर पास, एलिभेटेड हाइवे, नयाँ नदी करिडोर जस्ता आयोजना समावेस छन् ।


