लीपमोटर ‘बी ०३ एक्स’ मासिक ४० हजार किस्तामै किन्न सकिने

काठमाडौं । नेपाली बजारमा एकपछि अर्को नयाँ विद्युतीय कार आइरहेका छन् । यसैक्रममा शुक्रबारदेखि चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरको नयाँ क्रसओभर एसयूभी बी ०३ एक्स बिक्री सुरू भएको छ ।

नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले बी ०३ एक्सको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । यद्यपि, यो मूल्यमा पहिलो १०० ग्राहकले मात्र पाउने छन् । त्यसपछि यसको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।

‘भ्यालु फर मनि’ एसयूभीको रूपमा बजारमा आएको आएको बी ०३ एक्स मासिक ४० हजार रुपैयाँमै किन्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार विद्युतीय कार किन्न ६० प्रतिशतसम्म ऋण पाइन्छ भने सुरूमा ४० प्रतिशत डाउनपेमेन्ट बुझाउनुपर्छ ।

सो अनुसार ग्राहकले अहिले ४४ लाख ९९ हजार रुपैयाँ मूल्यको बी०३ एक्स किन्ने ग्राहकले सुरूमा ४० प्रतिशत अर्थात् १७ लाख ९९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । बाँकी २६ लाख ९९ हजार ४०० रुपैयाँ बैंकबाट कर्जा पाउने छन् ।

हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदर इतिहासकै सस्तो छ । ग्राहकले सहजै ६/६.५ प्रतिशत ब्याजदरमा कर्जा पाउने अवस्था छ । यस्तोमा ६.५ प्रतिशत ब्याजदरका आधारमा हिसाब गर्दा बी ०३ एक्स मासिक ४० हजार ८५ रुपैयाँ किस्ता तिर्ने गरी किन्न सकिन्छ । यो किस्ता ७ वर्ष कर्जा अवधिका आधारमा हिसाब गरिएको हो । सोभन्दा कम अवधिका लागि कर्जा लिने हो भने किस्ता रकम केही बढी पर्न जान्छ ।

नेपालमा लीपमोटर बी ०३ एक्स विभिन्न ५ कलर अप्सनमा उपलब्ध छ ।

यस्ताे छ  बी ०३ एक्स एसयूभी

चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री भइरहेको एसयूभी नेपालमा बी ०३ नाममा आएको हो । बी ०३ एक्समा १४५ किलोवाटको इलेक्ट्रीक मोटर र ५३ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा रहेको ब्याट्रीले एकपटकको फुलचार्जमा ५०५ किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

डीसी फास्ट चार्जरबाट ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६ मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ । बी ०३ एक्सको ऊर्जा खपत प्रति १०० किलोमिटर १०.७ किलोवाट आवर रहेको छ ।

यसको डिजाइन आधुनिक, व्यवहारिक र एरोडाइनामिक शैलीमा तयार गरिएको छ । यसको अगाडि बन्द ग्रिल, स्लिम एलईडी हेडलाइट र स्माइल शैलीको लाइट छन् । बम्परको डिजाइन सफा र एरोडाइनामिक छ । यसको साइडमा फ्लेयर गरिएको ह्वील आर्च, कालो क्ल्याडिङ, सेमी हिडन डोर ह्याण्डल र फ्लोटिङ रूफ इफेक्ट छ । पछाडि एलईडी टेललाइट दिइएको छ ।

यसमा ५१० लिटरको फराकिलो बुटस्पेस छ भने पछाडिको सिट फोल्ड गरेर १६०५ लिटरसम्म विस्तार गर्न सकिन्छ । यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २६०५ एमएम छ । यसमा १८ इन्चको एलोय ह्वील दिइएको छ । यसको अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बीम सस्पेन्सन पाउन सकिन्छ ।

यसको इन्टेरियरमा टु स्पोक मल्टि फंक्सन स्टेयरिङ ह्वील, ८.८८ इन्चको पूर्ण एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रीन रहेको छ। यसको इन्फोटेनमेन्ट सिस्टम क्वालकम ८२९५ ककपिट चिपद्वारा संचालित छ भने ‘क्वेन’को एआई असिस्टेन्ट जडान गरिएको छ।

यसमा सुरक्षाका लागि ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, ७ एयर ब्याग, रियर कन्सोल वार्निङ, फ्रन्ट एण्ड साइड लुकिङ वेभराडार, फ्रन्ट भ्यू मोनोकुलर क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्ट, एबीएस, लेभल २ एडास लगायत फिचर छन् ।


Back_to_top