एक्सियन ईभी टेस्ट ड्राइभ : मूल्यले बजार तय गर्छ, पावरले लोभ्याउँछ

काठमाडौं । वुलिङ ब्राण्डको ‘एक्सियन ईभी’ नेपाली बजारमा आइसकेको छ । आज दिउँसो नाडा अटो शो मार्फत मूल्य घोषणा हुन लागेको यो एसयूभीलाई हामीले टेस्ट ड्राइभ गरेर हेरेका छौं । उपत्यकाको विभिन्न स्थानमा चलाएर हेरेपछि यो ७ सिट क्षमताको एसयूभी खोज्नेको लागि उत्कृष्ट विकल्प बनेर आएको हामीले पायौं ।

यो गाडीले बजारमा कस्तो ब्यापार गर्ला भन्ने कुरा पारामाउन्ट मोटर्सले तोक्ने मूल्यले धेरै हदसम्म फरक पार्छ । तर, धेरै मानिस बोक्न होस् वा धेरै सामान नै बोक्नु पर्ने अवस्थामा यसको प्रयोग निकै उपयोगी हुन सक्छ ।

एक्सियन एसयूभी साइजको हिसाबले निकै ठूलो छ । यसको लम्बाइ ४७४५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १७५५ एमएम छ । यसमा २८१० एमएम लामो ह्वीलबेस भएको कारण क्याबिन निकै आरामदायी र फराकिलो पाउन सकिन्छ । वुलिङ एक्सियन ७ जनाले यात्रा गर्न मिल्ने एसयूभी हो ।

ब्याट्री साइजको हिसाबले पनि एक्सियन एसयूभी राम्रो छ । यसमा ६९.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । साथै, गाडीमा १५० किलोवाट क्षमताको पावरफुल मोटर पाउन सकिन्छ । पावरमा त यसले बजारमा चल्तीका र नाम चलेका सबै मोडललाई पछाडि छाड्ने देखिन्छ । ३१० न्युटन मिटर टर्कको कारण गाडीको पर्फमेन्स उत्कृष्ट छ ।

भेन्टिलेटेड सिट, पानारोमिक सनरुफ, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको सेन्टर स्क्रीन, चालकको लागि ६ तरिकाले मिलाउन मिल्ने सिट र मिनिमल डिजाइन यसको बलियो पक्ष हो । लेभल २ एडास फिचर, एयरब्यागहरुको प्रयोग, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, ट्राफिक वार्निङ फिचरसहित एडास भित्र पर्ने क्रुज कन्ट्रोलदेखि ३६० डिग्री क्यामेरासम्मका फिचरले चालकलाई निकै सजिलो बनाउँछ ।


Back_to_top