सरकारले अटो क्षेत्रलाई राजस्वमुखी बनाएको छ : महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई राजश्वमुखी बनाएको बताएका छन् ।

मंगलबार नाइमा मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सवारी साधनलाई सरकारले अत्यावश्यक साधनको रूपमा बुझ्न नसकेको बताएका हुन् ।

उनले सवारी साधनको संख्या उल्लेख्य बढे पनि सोही अनुसार सडक विस्तार हुन नसकेको बताए । आजभन्दा २० वर्ष अगाडि कति सवारी थिए । अहिले कति पुग्यो ? उपत्यकाको सडक कति बढ्यो भन्ने प्रश्न गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘पूर्वाधार विस्तार र त्यसको विकल्प खोज्ने कुरा कागजमा सीमित भए । व्यवहारमा उतार्न सकिएन । सडकमा ट्राफिक प्रहरीको उपस्थिति पनि बढाउन सकिएन । यसमा सरकारको ध्यान जानु पर्छ ।’

दुर्घटना न्यूनीकरण रोक्न सुरक्षीत पूर्वाधार हुनु पर्ने बताउँदै श्रेष्ठले भने ‘दुर्घटना चालक र गाडीको कारण मात्रै हुँदैन । सडकको गुणस्तर निकै महत्वपूर्ण हुन्छ ।’

नेपाल चीन र भारतको बीचमा भएकाले कन्ट्रयाक म्यानुफ्याक्चरिङमा काम गर्नुपर्छ । त्यसको लागि सम्भावित एसेम्बलिङ उद्योगलाई सरकारले सहुलियत दिनु पर्ने बताउँदै श्रेष्ठले भने, ‘सरकारले उद्योग चलाउने होइन । नीजि क्षेत्र लगानीको लागि तयार छ । तर, सरकारी उद्योगलाई नगदै पैसा खन्याएर नीजि क्षेत्रलाई त्यतिकै काम गर भन्ने कुराको हामी समर्थन गर्न सक्दैनौं ।’

हिजो नाडाको अध्यक्ष बन्ने क्रममा सौरभ ज्योति, शेखर गोल्छा र म आफैँले पनि सरकारलाई एसेम्बलिङ उद्योग स्थापनाको लागि बातावरण निर्माण गर्न भन्यौं । सरकारले केही गर्यो । हामीले पनि उद्योग लगायौं । अब अन्य साथीहरुले पनि उद्योग लगाउनु प¥यो’, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष श्रेष्ठले भने ।

उनले सरकारले कुनै पनि निर्णय गर्दा अटो व्यवसायीसँग छलफल नगर्ने गरेकाले समस्या पर्ने गरेको बताए । ‘हरेक पटक नयाँ सरकार आउने बित्तिकै एउटा अनौठो निर्णय हुन्छ। अहिलेको सरकारले सार्वजनिक यातायात दर्ता बन्द गरेको छ,’ श्रेष्ठले भने।


Back_to_top