नेपाल आयो सनरुफ भएको बीवाइडी एटो टु, नाडामा लन्च हुने

काठमाडौं । नेपाली बजारमा हटकेक मोडल बीवाइडी एटो टु अब सनरुफसहित उपलब्ध हुने भएको छ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सनरुफसहित एटो टु नेपाल ल्याएको हो ।

कम्पनीले आधिकारिक रुपमा सनरुफ सहितको एटो टु नेपाल आएको जानकारी दिएको छैन । तर, आफ्नो सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै ‘कुनै नयाँ कुरा नजिकै आइपुग्दै छ’ भनेको छ ।

भिडियोमा देखिएको सडकमा गुडिरहेको कारको डिजाइन हेर्दा बीवाइडी एटो टु हो भनेर सहजै अनुमान लगाउन सकिन्छ । उक्त कारमा स्पष्ट रुपमा सनरुफ देखिन्छ ।

हाल नेपाली बजारमा उपलब्ध वीवाइडी एटोमा सनरुफ छैन । कम्पनीले गत साउन सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा ४५ किलोवाट आवरको ब्याट्री भएको नयाँ एटो टु सार्वजनिक गरेको थियो । सो अघि कम्पनीले ५१ किलोवाट आवरको ब्याट्री भएको एटो टु बिक्री गर्दै आएको थियो । सनरुफवाला एटो टुमा कुन ब्याट्री उपलब्ध छ भन्ने खुलेको छैन ।

कम्पनीले सनरुफ भएको नयाँ एटो टु यही भदौ ९ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२६ मा सार्वजनिक गर्नेछ ।

बीवाइडी एटो टु हाल नेपालमा सर्वाधिक रुचाइएको एसयूभी हो । २०८२ साउनमा मात्रै नेपाल आएको बीवाइडी एटो टु १ वर्षमै करिब साढे २ हजार युनिट आयात भइसकेको छ । आकर्षक डिजाइन, आधुनिक फिचर, प्रफेक्ट साइज र मूल्यका कारण यो एसयूभी रोजाइमा परेको हो ।

बीवाइडी एटो टुमा १०० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । यसको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । एटो टुमा २६२० एमएम लामो ह्वीलबेस छ । कम्पनीका अनुसार यसमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । यसको बुट स्पेश ४०० लिटरको छ ।

बीवाइडी एटो टुको इन्टेरियरमा १२.८ इन्चको रोटेटिङ टचस्क्रीन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, ५० वाटको वायरलेच कुलिङ चार्जिङ प्याड, सेन्टर कन्सोल स्टोरेज कम्पार्टमेन्ट यसमा छ । साथै, यसमा पावर्ड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट कभर, ८ वटा स्पीकर, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, भोइस असिस्ट, इलेक्ट्रीक टेलगेट जस्ता बहु उपयोगी फिचर छन् ।

बीवाइडी एटो टुमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईपीबी, ईएससी, हिल असिस्ट, ३६० डिग्री सराउण्ड भ्यू क्यामरा, बीवाइडी डिजिटल की, हिल असिस्ट, लेभल टु एड्भान्स एडास उपलब्ध छ ।


Back_to_top