काठमाडौं । बुधबार बिहान तिब्बत तर्फबाट अचानक आएको विनाशकारी बाढीबाट पुगेको क्षतिप्रति प्रमुख अटोमोबाइल ब्राण्डहरूले गहिरो दुःख व्यक्त गर्दै समवेदना तथा ऐक्यबद्धता जनाएका छन् ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, धादिङ, गोर्खा र चितवन लगायतका क्षेत्रमा पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस कठिन परिस्थितिमा प्रभावित समुदायको साथमा उभिने प्रतिबद्धता जनाएका हुन् ।
हुण्डाई, बीवाईडी, ओमोडा एण्ड जेको, चांगन, डाेङफेङ, किया लगायत ब्राण्डका नेपालका आधिकारिक बिक्रेताहरूले सामाजिक संजालमार्फत सन्देश जारी गर्दै प्रभावित नागरिकहरूप्रति समवेदना व्यक्त गर्दै विपत्तिको समयमा कार्यक्षेत्रमा खटिएका उद्धारकर्मी, स्वयंसेवक र स्थानीय समुदायको साहसको उच्च प्रशंसा गरेका छन् ।
साथै, उनीहरूले प्रभावित क्षेत्रको पुनरुत्थान र पुनर्निर्माणका लागि एकता र धैर्यको कामना गरेका छन् । बाढीबाट आफैं पीडित बनेका अटो व्यवसायीले विपद्को घडीमा आफ्नो जिम्मेवारी बोध गर्दै ऐक्यबद्धता जनाएका हुन् ।
हुन्डाई नेपालले बाढीबाट प्रभावित क्षेत्रका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै प्रभावितहरूको सुरक्षा र शीघ्र पुनःस्थापनाको कामना गरेको छ । कम्पनीले कठिन परिस्थितिमा रसुवाका नागरिकसँग आफूहरू एकसाथ रहेको उल्लेख गर्दै विपद्बाट प्रभावित सबैको सुरक्षा र शीघ्र स्वास्थ्यलाभ तथा पुनःस्थापनाका लागि प्रार्थना गरेको छ।
हुन्डाईले रसुवा, धादिङ, गोरखा र चितवनलगायत प्रभावित क्षेत्रले अब पुनःस्थापना र पुनर्निर्माणको बाटो समात्ने विश्वास व्यक्त गर्दै संकटको समयमा समुदायको एकता र सामूहिक शक्तिले प्रभावित नागरिकमा सान्त्वना, उपचार, आशा र नयाँ सुरुवातको भावना जगाउने अपेक्षा गरेको छ।
त्यस्तै, बीवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘स्ट्रङगर टुगेदर’ भन्ने मूल भावनाका साथ प्राकृतिक विपत्तिको यस कठिन परिस्थितिमा प्रभावित प्रत्येक परिवार र स्थानीय समुदायको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
बीवाइडीले नागरिकहरूलाई संयमित र सचेत रहन आग्रह गर्दै आपत्तिको समयमा आपसमा सहयोगको हात बढाउन अपील गरेको छ। ‘यो अति नै चुनौतीपूर्ण समय हो। यस घडीमा हामी विपत्तिबाट प्रभावित हुनुभएका सम्पूर्ण परिवार र समुदायहरूप्रति सहानुभूति प्रकट गर्दछौँ। आउनुहोस्, हामी सबैले एक(अर्काको हेरचाह गरौँ, उच्च सतर्कता अपनाऔँ र वरपरका मानिसहरूलाई सम्भव भएसम्म सहयोग गरौँ,’ बीवाइडीले भनेको छ ।
नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक बिक्राता एसपीजी अटोमोबबाइल्सले स्ट्यान्डिङ टुगेदर भन्ने नाराका साथ बाढीबाट प्रभावित सम्पूर्ण नागरिक, परिवार र समुदायप्रति सहानुभूति प्रकट गरेको हो।
कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै उद्धार कार्यमा अहोरात्र खटिएका उद्धार टोली, स्वयंसेवक र स्थानीय समुदायको योगदानको उच्च प्रशंसा गरेको छ ।
कम्पनीले यस कठिन घडीलाई पार गर्दै पुनरुत्थानको दिशामा अघि बढ्न सबैलाई आँट, एकता र आशाले मार्गदर्शन गरोस् भन्ने कामना गर्दै ओमोडा एन्ड जेकुले सम्पूर्ण नागरिकहरूलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।
नेपालका लागि चांगन, डोङफेङ लगायत ब्राण्डको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले बाढीका कारण पुगेको जनधन, घरबार र जीविकोपार्जनको क्षति हृदयविदारक रहेको उल्लेख गरेको छ । साथै, कम्पनीले विपद्को समयमा सही सूचनाको प्रवाहलाई प्राथमिकता दिँदै आपत्कालीन सम्पर्क नम्बरहरू सेयर गर्न सबैमा आह्वान गरेको छ ।
कियाले भोटेकोशी नदीमा आएको बाढीले रसुवा जिल्लामा पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूका परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। कठिन समयमा प्रभावित समुदायले धैर्य र पुनरुत्थानको शक्ति प्राप्त गरून् भन्ने कामना कम्पनीले गरेको छ ।
यी बाहेक अन्य कम्पनीहरूले पनि दुःखको घडीमा ऐक्यबद्धता जनाएका छन् । बाढीले अटो क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । व्यवसायीले चाडपर्वलाई लक्षित गर्दै ल्याएका ७०० बढी विद्युतीय कार र २०० कन्टेनर बढी सामान बगाएकोे छ । साथै, सयौं निजी सवारी पनि बगाएको ।
बाढीले ५० किमी बढी सडक र ३५ बढी पुलमा क्षति पुर्याएको छ । यो विपद्को बेला व्यवसायीबाट देखाइएको ऐक्यबद्धताले उद्धार, राहत र पुनरस्थापनाका कार्यहरूमा थप हौसला पुर्याउने विश्वास लिइएको छ ।


