काठमाडौं । नेपालको लागि प्रिमियम र लाइफस्टाइल सेग्मेन्टमा इन्ट्री गर्न लागेको जेटोर ब्राण्ड बाढीको चपेटामा परेको छ । लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनीले नेपाल ल्याइरहेको जेटोरका सम्पूर्ण नेपाल आएका एसयूभी भोटेकोशी बाढीमा परेर बेपत्ता भएको हो ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा अटो शोमा प्रदर्शनी गर्न स्टल पनि तयार पारिसकेको जेटोर ब्राण्डका उत्पादन बाढीको कारण काठमाडौं नै आइपुग्न सकेन । कम्पनीले टी १ र टी २ मोडल ल्याएको थियो ।
जेटोरले विश्व बजारमा बिक्री गरिरहेको टी २ र टी १ पछि आगामी हप्ता सुरू हुने छेन्दु मोटर शोमा केही नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको समाचारहरू बाहिर आएका छन् । जेटोरले ल्याउन लागेको कम्प्याक्ट एसयूभी ‘टुरर’ अहिले चर्चामा छ ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) मा दर्ता भएको विवरण अनुसार टुरर मोडल यसअघि देखाएको टीएक्स कन्सेप्टमा आधारित रहेको देखिन्छ । जसलाई कम्पनीले यस वर्ष भएको बेइजिङमा भएको अटो चाइनामा देखाएको थियो ।
बक्सी डिजाइन र टी२को झल्को
जेटारको नयाँ एसयूभी टुररको डिजाइन टी २ एसयूभीबाट प्रभावित देखिन्छ । बक्सी र कम्प्याक्ट डिजाइन, अगाडिको ठूलो विन्डस्क्रीन तथा आकर्षक बडी सर्फेसिङले यसलाई एडभेन्चर शैलीको एसयूभी देखाउँछ ।
यद्यपि, टी २को तुलनामा यसको डिजाइन फरक र आधुनिक लाग्छ । अगाडि र पछाडि दिइएको फुल–विड्थ ग्लस ब्ल्याक बार यसको सबैभन्दा विशेष डिजाइन एलिमेन्ट हो । यही बारभित्र चारवटा गोलाकार डिजाइनका हेडलाइट तथा टेललाइट राखिएका छन् ।
एमआईआईटीमा दर्ता भएको विवरण अनुसार टुरर एसयूभीको लम्बाइ ४४७५ एमएम, चौडाइ १८८० एमएम र उचाइ १७१० एमएम रहने छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस रहने छ ।
साइजका हिसाबले टी १ र टी २ भन्दा निकै सानो हुनेछ । टी १को लम्बाइ ४७०५ एमएम र टी २को ४७८५ एमएम छ । टुरर एसयूभीमा १८ र १९ इन्चका ह्वील अप्सन रहनेछ । १९ इन्चको ह्वील विशेष डिजाइनमा रहने छ ।
पावरफुल मोटर
जेटोर टुरर दुई फरक मोटर पावरको साथ आउने अनुमान गरिएको छ । सिंगल मोटर भर्सनमा २०० किलोवाट अर्थात् २७२ पीएस पावर रहने छ ।
त्यस्तै, डुअल मोटर तथा अल-ह्वील ड्राइभ भर्सनले २७५ किलोवाट अर्थात् ३७४ पीएससम्म पावर उत्पादन गर्ने मोटरमा रहने छ । यसले पावरफुल एसयूभी खोज्नेलाई विकल्प दिनेछ ।
जेटोरले यसलाई चीन बाहिरको बजारमा पनि बिक्री गर्ने योजना बनाएको समाचारहरू आएका छन् । टुरर एसयूभी नेपाल पनि आउने सम्भावना भएको मोडल हो । यसको ब्याट्री लगायतका अन्य टेक्नीकल डिटेलहरू केही दिनमै बाहिर आउने अनुमान गर्न सकिन्छ ।


