काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण बुधबार बिहानदेखि अवरुद्ध नागढुंगा मुग्लिन सडक आज दिउँसोसम्म संचालनमा ल्याउने तयारी भइरहेको छ ।
सडक विभागले सडकको विभिन्न खण्डमा रहेको लेदो हटाएर जतिसक्दो चाँडो यातायात सुचारु गर्ने तयारी थालेको हो ।
पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म संचालनमा ल्याउने तयारीका साथ अहिले धमाधम लेदो पन्छाउने काम भइरहेको सडक विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर सडकको विभिन्न ठाउँमा लेदो थुप्रिएको र सो हटाउने काम भइरहेको छ । लेदो हटाउन गए रातिदेखि नै १५ बढी उपकरणहरु परिचालन गरिएको उनले बताए । यद्यपि, लेदोले पुरेको सडकको अवस्था कस्तो छ भन्ने थाहा नभएको उनको भनाइ छ ।
‘नागढुंगा मुग्लिन सडकको बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर खण्डको विभिन्न ठाउँमा लेदो थुप्रिएको छ । गए राति देखि नै १५ बढी उपकरण प्रयोग गरी धमाधम लेदो पपनछाउने काम भइरहेको छ । लेदोले पुरेको ठाउँको सडकको अवस्था थाहा छैन । यदि सो ठाउँमा सडक नभत्किएको भए दिउँसोसम्म संचालनमा आउँछ,’ उनले भने, ‘बैरेनीदेखि गलौंदीसम्म बाहेक अन्यत्र सडक क्ल्यिर छ ।’
भोटेकोशी नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउँदै नागढुंगा मुग्लिन सडक हिजो बिहान करिब ११ बजेदेखि नै बन्द गरिएको थियो ।


