नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, तत्काल शुल्क नलाग्ने

काठमाडौं । नेपालकै पहिलो आधुनिक नागढुंगा-नौबिसे सुरुङमार्ग निजी सवारीका लागि पनि खुला गरिएको छ ।

गत साउन ९ गतेदेखि आपत्कालीन सवारी साधन (सुरक्षामर्कीको गाडी, एम्बुलेन्स, दमकल लगायत)का लागि मात्र खुला गरिएको सुरुङमार्गमा आजदेखि ९ सिटसम्मका निजी सवारी पनि चल्न पाउने भएका हुन् ।

नागढुंगा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार आजदेखि ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारीले पनि सुरुङमार्ग हुँदै आवतजावत गर्न पाउने छन् ।

उनले निजी सवारीले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मात्र सुरुङमार्ग प्रयोग गर्न पाउने बताए । हाललाई परीक्षणस्वरुप निजी सवारीका लागि सुरुङ खुला गरिएकाले शुल्क नलाग्ने व्यवस्था मिलाइएको उनले बताए । आगामी दिनमा क्रमशः सार्वजनिकसहित अन्य सवारीका लागि पनि सुरुङ खुला गर्ने तयारी भइरहेको उनले बताए ।

‘गत साउन ११ देखि अत्यावश्यक सेवाका सवारीका लागि सुरुङ खुला गरिएको थियो । आजदेखि ९ सिटसम्मका निजी सवारीलाई प्रवेश खुला गरिएको हो । केही समय परीक्षण गर्छौं । त्यसपछि अरु सवारीका लागि पनि खुला हुन्छ,’ उनले भने ।

उनले सुरुङ भित्र सवारी चलाउँदा हेड लाइट बाल्नुपर्ने, ओभर टेक गर्न नपाइने, प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी स्पीडमा चलाउन नपाइने र सवारी रोक्न नपाइने बताए ।

नागढुंगा-नौबिसे सुरुङमार्ग २ हजार ६८८ मिटर लामो छ । उक्त सुरुङमार्ग करिब २३ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । यसले नौबिसे नागढुंगा सडकको यात्रा अवधि ६ किमी छोट्याएको छ भने आधा घण्टाको यात्रा अवधि ५ मिनेट झरेको छ । साथै, सवारी आवतजावत सहज हुनुका साथै इन्धन खपत र समय बचत हुनेछ ।

सुरुङमार्ग संचालनको ठेक्का नेपालीचिनियाँ लगानीके युसिन एआरटी कम्पनीले पाएको छ । उक्त कम्पनीले ५ वर्षसम्म २४सै घण्टा संचालन गर्न १ अर्ब १० करोड रुपैयाँमा ठेक्का पाएको हो । ५ वर्षसम्म सोही कम्पनीले सुरुङमार्ग २४सै घण्टा संचालन, रेखदेख, मर्मत सम्भार गर्नुपर्नेछ ।

नागढुंगासिस्नेखोला सुरुङमार्ग यातायात संचालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन । निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकलरस्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ ।

त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन । साथै, सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ ।

यी बाहेक कार, जीप, भ्यान, माइक्रोबस, मिनिट्रक, ट्रक, बस लगायत सवारी भने गुड्न पाउँछन् । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।

सरकारले सुरुङमार्गबाट गुड्ने सवारी साधनको वर्ग अनुसार उपभोग दस्तुर (टोल) तोकेको छ । सुरुङमार्ग हुँदै काठमाडौं आउँदा कार तथा भ्यानहरूले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

त्यस्तै, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसैगरी, हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीले डिजिटल माध्यममार्फत दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । सडक बोर्ड नेपालका अनुसार सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधिमा आधारित स्टिकरका रूपमा एन ट्यागको व्यवस्था गरिएको छ ।

सुरुङ प्रयोग गर्ने गाडीले भुक्तानीका लागि बैंकबाट एन ट्याग कार्ड लिनुपर्छ । हाल ग्लोबल आईएमई, कुमारी, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र सानीमा बैंकबाट एट ट्याग कार्ग लिन पाइन्छ । हाललाई १ हजार, २ हजार र ५ हजार नगदको एन ट्याग लिने व्यवस्था गरिएको छ । उक्त एनट्याग कार्डको स्टिकर गाडीको सिसामा टाँस्नुपर्छ । जसलाई मेसिनले अटोमेटिक रिड गर्छ । र, कार्डबाट अनलाइन भुक्तानी हुन्छ । यद्यपि, सुरूआती केही समय क्यूआर र नगदबाट पनि भुक्तानीको व्यवस्था मिलाइने छ ।


Back_to_top