काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड चांगानको नयाँ प्रिमियम इलेक्ट्रीक एसयूभी दीपल नेभो क्यू ०५ मासिक साढे ४० हजार रुपैयाँ किस्ता तिर्नेगरी चढ्न सकिने भएको छ ।
एमएडब्लू वृद्धिले आइतबारदेखि नेपालमा बिक्री सुरू गरेको नेभो क्यू ०५ बैंकबाट ऋण लिएर खरिद गर्दा मासिक किस्ता ४० हजार ५०० रुपैयाँ पर्ने भएको हो ।
एमएडब्लूले नाडा अटोसम्म लागू हुने गरी नेभो क्यू ०५ म्याक्स भेरियन्टको मूल्य ४६ लाख ९९ हजार र अल्ट्रा भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नाडा अवधि सकिएपछि म्याक्सको मूल्य ४८ लाख ९९ हजार र अल्ट्रा भेरियन्टको ५१ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको नियम अनुसार हाल विद्युतीय कार किन्न ६० प्रतिशतसम्म ऋण पाइन्छ भने सुरूमा ४० प्रतिशत डाउनपेमेन्ट बुझाउनुपर्छ ।

सो अनुसार ग्राहकले ४६ लाख ९९ हजार रुपैयाँ मूल्य पर्ने क्यू ०५ म्याक्स किन्न सुरूमा ४० प्रतिशत अर्थात् १८ लाख ७९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । बाँकी २८ लाख १९ हजार ४०० रुपैयाँ बैंकबाट ७ वर्षका लागि कर्जा पाउने छन् ।
हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदर इतिहासकै सस्तो छ । ग्राहकले ५.२५/५.५० प्रतिशत ब्याजदरमै सजिलै गाडी किन्न कर्जा पाउने अवस्था छ । केही बैंकले ५ प्रतिशत ब्याजदरको स्कीम नै ल्याएका छन् । यस्तोमा ५.५ प्रतिशत ब्याजदर र ७ वर्षको कर्जा अवधिको आधारमा हिसाब गर्दा क्यू ०५को मासिक ४० हजार ५१५ रुपैयाँ पर्छ । नाडा सकिएपछि किन्ने हो भने मासिक किस्ता थोरै बढेर ४२ हजार २३९ रुपैयाँ पर्छ ।
नाडा अटो शोमा क्यू ०५ को अल्ट्रा भेरियन्ट किन्ने हो भने मासिक ४३ हजार १०१ रुपैयाँ र नाडापछि किन्दा ४४ हजार ८२५ रुपैयाँ पर्न आउँछ ।
यस्तो छ नेभो क्यू ०५
आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र ठूलो साइजको भएकाले क्यू ०५ आफ्नो सेग्मेन्टमा बलियो दाबेदारीको रुपमा बजारमा आएको हो ।

चांगनको अत्याधुनिक ‘डिजिटल विङ २.०’ डिजाइन ल्याङ्ग्वेजमा आधारित नेभो क्यू ०५ आधुनिक, स्लिक र फ्युचरिस्टिक छ । यसको अगाडि स्लीक फुल विथ स्टार रिङ एलईडी लाइट स्ट्रिप, म्याट्रिक्स हेडलाइट्स र क्लोज ग्रिल दिइएको छ । जसले यसलाई निकै आक्रामक र आधुनिक लुक दिन्छ । साइडमा फ्वोङि क्यारेक्टर लाइनहरू, एरोडाइनामिक ह्वील आर्च छ भने पछाडि जोडिएको एलईडी टेललाइट बार प्रयोग गरिएको छ ।
१८५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको नेभो क्यू ०५ को लम्बाइ ४४३५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम छ । यसमा २७३५ मिलिमिटर ह्वीलबेस पाउन सकिन्छ ।
नेभो क्यू ०५ एसयूभीमा ५१.९ किलोवाट आवरको गोल्डेन शिल्ड २.० एलएफपी ब्याट्री प्याक छ । जसले एकपटकको फुलचार्जमा ४६२ किलोमिटर एनईडीसी रेन्ज दिने कम्पनीको दाबी छ ।
यो एसयूभीले १६२ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । जसबाट यसको ब्याट्री केबल १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
यसमा १२० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १६३ हर्ष पवार तथा १९० न्युटन मिटर टर्क प्रदान गर्छ । यसले शून्यदेखि १०० किमी प्रतिघण्टाको स्पीड भेटाउन ८.२ सेकेण्ड लगाउँछ ।
क्यू ०५ को क्याबिन निकै आकर्षक र प्रिमियम छ । यसमा १४.६ इन्चको सेन्ट्रल डिस्प्ले र १०.१७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । यसमा एप्पल कार प्लेरएण्डड्रोइज अटो, ५० वाटको वायरलेस चार्जिङ, ब्युल्ट इन ड्यासक्याम, थ्रीडी ५४० डिग्री क्यामेरा, मोबाइलबाटै चल्ने कनेक्टिभिटी सिस्टम, ब्लूटुथ की, ओटीए, २५६ किसिमको एम्बियन्ट लाइट छ ।

यसमा कुल ५४० लिटरको बुटस्पेस पाउन सकिन्छ । २७ ठाउँमा स्टोरेज स्पेस उपलब्ध छ । नेभो क्यू ०५ मा सुरक्षाका लागि ६ वटा एयर ब्याग, ५४० डिग्री क्यामेरा, १८ बढी सुविधा भएको लेभल २ एडास फिचर छ ।


