काठमाडौं । चोरीको स्कुटर राइड सेयरिङमा प्रयोग गर्ने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौं नयाँ बसपार्कस्थित एक होटलबाट झापाको दमक नगरपालिका-७ का ३९ वर्षीय सरोज खनाललाई पक्राउ गरेको हो ।
उनले राइड सेयरिङको काम गर्दै आएका थिए । उनले चलाउँदै आएको स्कुटर पनि चोरीको भएको ट्राफिकले जनाएको छ ।
हालै काठमाडौंको नक्सालबाट भक्तपुर दरवार स्क्वाएरसम्म जाने एक यात्रुले ल्यापटपको झोला स्कुटरमै बिर्सिएका थिए । उनले चालक सम्पर्कविहीन भएपछि खोजीका लागि ट्राफिक प्रहरीलाई जानकारी गराएको थिए ।
ट्राफिकले खोजीको क्रममा उनलाई नयाँ बसपार्कको एक होटलबाट पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनले अर्कै व्यक्तिको आइडी प्रयोग गरी राइड सेयरिङको काम गर्दै आएको पाइएको छ ।
हालै ट्राफिक प्रहरीले भेटाएका सवारी साधन सम्बन्धित सवारीधनीलाई बुझाउने क्रममा एउटा मोटरसाइकलको डिकी भित्र खनालको नागरिकता भेटिएको थियो । यसबाट उनी लामो समयदेखि चोरी कार्यमा संलग्न हुँदै आएको हुनसक्ने प्रहरीको आशंक छ । उनलाई नियन्त्रणमा लिई हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीबाट फेला परेको ल्यापटप भने धनीलाई फिर्ता गरिएको छ।


