काठमाडौं । मलेसियन ब्राण्ड प्रोटोन नेपालमा नेटवर्क विस्तारमा आक्रमक बनेको छ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले देशव्यापी रुपमा शोरुम विस्तार गरिरहेका हो ।
यसैक्रममा, कम्पनीले वीरगंजको बाइपास रोडमा आफ्नो ११औंशोरुम संचालनमा ल्याएको छ । शोरुम उद्घाटनकै अवसरमा कम्पनीले ‘द अल न्यू प्रोटोन इमास फाइभ’ लन्च गरेको छ ।
प्रोटोन इमास फाइभ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। प्राइम भेरियन्टको सुरुवाती मूल्य ३२ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
वीरगंजस्थित प्रोटोनको नयाँ आधिकारिक शोरुममा पुगेर ग्राहकले इमास फाइभको प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
नेपालमा प्रोटोनको दोस्रो ईभी मोडलको रुपमा आएको इमास फाइभ सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको छ।
प्रोटोन इमास फाइभ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको छ। यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता आधुनिक सुविधा उपलब्ध छन्।
त्यसैगरी, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस, ३२ वटा स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।
जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजन रहेको इमास फाइभले वीरगंजका ग्राहकहरूको मन जित्ने बताए ।
उनले भक्तपुरबाट सुरू भएको इमास फाइभको क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै वीरगंजसम्म आइपुगेको बताए ।
कम्पनीले आगामी दशैंअघि नै झापाको बिर्तामोडमा १२औँ सोरुम संचालनमा ल्याउने तयारी गरेको छ ।


