टाटाले १ महिनामै बेच्यो ६७ हजार कार, ईभी बिक्री दोब्बरले बढ्यो

काठमाडौं । टाटा मोटर्स इन्डियाको कार बिक्रीमा उछाल आएको छ । कम्पनीले सन् २०२६ को अगष्टमा कुल ६७ हजार ७५३ युनिट प्यासेन्जर कार बिक्री गरेको हो ।

यो गत वर्ष सोही अवधिको तुलनामा ५६.४२ प्रतिशत धेरै हो । सन् २०२५ अगष्टमा कम्पनीले कुल ४३ हजार ३१५ युनिट कार बेचेको थियो । यस वर्ष सोही अवधिमा २४ हजार ४३८ युनिट धेरै बेच्न सफल भएको हो ।

अगष्टमा टाटाको व्यापार घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा बढेको हो । टाटाले अगष्ट भारतमा मात्रै ६५ हजार २५३ युनिट कार बेचेको छ । यो गत वर्षको तुलनामा ५९.१५ प्रतिशत धेरै हो । गत वर्ष अगष्ट ४१ हजाार १ युनिट कार बेचेको थियो ।

त्यस्तै, निर्यात ८.०४ युनिट बढेर २५०० युनिट पुगेको छ । गत वर्ष अगष्ट २३१४ युनिट कार विदेश पठाएको थियो ।

ईभी बिक्री दोब्बरले बढ्यो

टाटाले अगष्टमा ईभी बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । कम्पनीले अगष्टमा १६ हजार ५४९ युनिट ईभी बेचेको छ । जुन हालसम्म कुनै पनि एक महिनामा बिक्री गरेको सर्वाधिक ईभी हो । साथै, टाटाले लगातार दोस्रो महिना १५ हजार युनिट बढी ईभी बिक्रीको रेकर्ड बनाएको छ ।

गत वर्ष अगष्टको तुलानमा यस वर्ष टाटाको ईभी बिक्री ९३.७८ प्रतिशतले बढेको हो । २०२५ अगष्ट जम्मा ८५४० युनिट ईभी बिक्री गरेको थियो ।

टाटाले एकपछि अर्को नयाँ मोडल ल्याएसँगै बिक्रीमा उल्लेख्य वृद्धि भएको हो । टाटाले जनवरीमा पन्च ईभी फेसलिफ्ट, जुनमा सियरा ईभी र अगष्ट टिगायो ईभी फेसलिफ्ट बजारमा ल्याएको थियो । यी बाहेक टाटाका टिगोर, नेक्सन, कर्भ, ह्यारियर ईभी उपलब्ध छन् ।


Back_to_top