काठमाडौं । मधेश प्रदेशले आफैं सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाई सुरू गरेको छ । प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी आफ्ना सेवाग्राहीको लाइसेन्स आफैंले छाप्न थालेको हो ।
यसअघि सातै प्रदेशका सेवाग्राहीको लाइसेन्स संघीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले छापेर वितरणका लागि सम्बन्धित कार्यालयहरूमा पठाउँदै आएको थियो ।
संवैधानिक व्यवस्था अनुसार यातायात सम्बन्धी सम्पूर्ण अधिकार प्रदेश सरकारको क्षेत्रधिकार परे पनि प्रदेशहरू लाइसेन्स छपाइका लागि केन्द्रकै भर पर्दै आएका थिए । अहिले भने विभागले लाइसेन्स छपाईको जिम्मा प्रदेशहरूलाई नै लगाएको हो ।
विभागका सूचना अधिकारी (निर्देशक) केशव खतिवडाले २०८३ भदौदेखि सुरक्षण मुद्रण सम्बन्धी प्रचलित कानुनको परिधि भित्र रही सम्बन्धित प्रदेश मन्त्रालयले नै लाइसेन्स छपाई गरी वितरणको आवश्यक प्रबन्ध मिलाइएको जानकारी दिए ।
सोही अनुसार मधेशले मुद्रण केन्द्रसँग सम्झौता गरी छपाई सुरू गरेको उनले बताए । अन्य प्रदेशहरूले पनि मुद्रण केन्द्रसँग सम्झौताको तयारी गरिरहेको उनको भनाइ छ ।
‘विगतमा सातै प्रदेशको लाइसेन्स विभागले छापेर वितरणका लागि पठाउँदै आएको थियो । २०८३ भदौदेखि सम्बन्धित प्रदेश मन्त्रालयले नै लाइसेन्स छपाई गर्ने व्यवस्था मिलाइएको छ । सोही अनुसार मधेशले मुद्रण केन्द्रसँग सम्झौता गरिसक्यो । अरु प्रदेशले पनि तयारी गर्दैछन्,’ उनले मेरोअटोसँग भने ।
लाइसेन्स छपाईको जिम्मा पाए पनि सम्बन्धित प्रदेशमै छपाई भने नहुने उनले बताए । प्रदेशहरूले सम्झौता गरी काभ्रेपलाञ्चोकस्थित सुरक्षण मुद्रण केन्द्रमा छापिने उनले बताए ।
उनका अनुसार देशभरका यातायात कार्यालयबाट इन्ट्री भएको डाटा विभागको केन्द्रीय अनलाइन सिस्टममा उपलब्ध हुनेछ । त्यही सिस्टममा दैनिक प्राप्त डाटाका आधारमा मुद्रण केन्द्रले लाइसेन्स छपाइ गरी हुलाक मार्फत सम्बन्धित प्रदेश कार्यालयहरूमा पठाउने उनको भनाइ छ ।


