अब रसुवा जाने र आउने वैकल्पिक सडक छुट्टाछुट्टै, ठूला सवारी पनि चल्ने

काठमाडौं । अब रसुवा जानका लागि छुट्टाछुट्टै वैकल्पिक सडक प्रयोग गर्न सकिने भएको छ ।

भदौ १० गते आएको बाढीले त्रिशूली-बेत्रावती सडकखण्ड क्षतिग्रस्त बनाएपछि रसुवामा यातायात पहुँच कायम गर्न मर्मत सम्भार गरी वैकल्पिक सडक संचालनमा ल्याइएको हो ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार ढिकुरे-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला-धनस्वारा-पाटिखर्क-भोर्ले-जिबजिबे-बोगटीटार हुँदै कालिकास्थान-धुन्चे जोड्ने सडकको बोरे भञ्ज्याङ-सानो खोला-धनस्वारा-पाटिखर्क खण्डमा मर्मत सम्भार गरी संचालनमा ल्याइएको हो । यससँगै अब उक्त सडकमा ठूला सवारी पनि चल्न सक्ने भएका हुन् ।

उक्त खण्डमा पहिरो हटाउने, सडक सतह मिलाउने, कच्ची नाली बनाउने, साँघुरा स्थान चौडा पार्ने, ग्राभेल राख्ने तथा कल्भर्ट निर्माण लगायतका काम गरिएको मन्त्रालयले जनाएको छ ।

अब पाटिखर्कसम्म पुग्न दुई वैकल्पिक मार्ग उपलब्ध भएका छन्। जाँदा फेदीबेसी-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला-धनस्वारा हुँदै पाटिखर्क सडक प्रयोग गर्न सकिने छ  । फर्किँदा पाटिखर्क-लच्याङ-नर्जा-आप्र-बाहुनबेसी-चौघडा पुल हुँदै मध्यपहाडी राजमार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

एकतर्फी रूपमा फरक-फरक मार्ग प्रयोग गर्दा सवारी आवागमन सहज हुनुका साथै सडकमा हुने जामसमेत घट्ने अपेक्षा गरिएको छ।

यसअघि काठमाडौं-टोखा-छहरे-चौघडा पुल-बाहुनबेसी-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटिखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकमा चारपाङ्ग्रे साना सवारी मात्र संचालन हुँदै आएका थिए।

 


Back_to_top