काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को डेढ महिनामा साढे २१ हजार जनाले नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिएका छन् ।
यातायात व्यवस्था विभागको (ईडीएलभीआरएस) तथ्यांक अनुसार चालु आवको साउन १ गतेदेखि भदौ १६ गतेसम्म कुल २१ हजार ५५७ जनाले नयाँ लाइसेन्स जारी भएका हुन् ।
देशभरका यातायात कार्यालयहरूबाट उक्त संख्यामा नयाँ लाइसेन्स जारी भएका हुन् । विभागका अनुसार चालु आवमा औसतमा दैनिक ४५९ जनाले नयाँ लाइसेन्स लिएका हुन् ।
यस अवधिमा बागमती प्रदेशबाट सबैभन्दा धेरै ६ हजार ५२१ वटा नयाँ लाइसेन्स जारी भएका छन् । त्यस्तै, लुम्बिनीबाट ५ हजार १०, कोशीबाट २ हजार ९५३, मधेशबाट ३१०१, गण्डकीबाट २ हजार ५४३, सुदूरपश्चिमबाट १ हजार ३९३ र कर्णालीबाट ३३ वटा नयाँ लाइसेन्स लिएका छन् ।
नयाँ लाइसेन्स बनाउन लिखित र ट्रायल दुवै परीक्षा पास गर्नुपर्ने हुन्छ । त्यस्तै, डेढ महिनामा ७ हजार ३५४ जनाले लाइसेन्सको वर्ग थप गरेका छन् । अर्थात् यसअघि एउटा वर्गको सवारी चलाउन अनुमति लिएका व्यक्तिहरूले अर्को वर्गको लाइसेन्स चलाउन पनि अनुमति पाएका हुन् ।

यही अवधिमा ३३ हजार १६९ जनाले आफ्नो लाइसेन्स नवीकरण गरेका छन् । २०८२ साउन १४ गते अघि जारी भएको लाइसेन्सको म्याद ५ वर्ष रहेको छ भने त्यसयता जारी भएकाको १० वर्ष रहेको छ । लाइसेन्सको तोकिएको म्याद सकिएको ९० दिन भित्र लाइसेन्स नवीकरण गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
डेढ महिनाको अवधिमा ७२ हजार ४१६ जनाले आफ्नो लाइसेन्समा भएको त्रुटि सच्याएका छन् । यस अवधिमा देशभरका यातायात कार्यालयहरूबाट कुल १ लाख ३४ हजार ३९६ जनाले लाइसेन्स सम्बन्धी सेवा लिएको विभागले जनाएको छ ।


