प्रिमियम मोटरसाइकल खोज्नेलाई ५ नयाँ विकल्प

काठमाडौं । नेपालमा प्रिमियम सेग्मेन्टका मोटरसाइकलको माग बढ्दो क्रममा छ । दैनिक कामकाजका लागि कम्प्युटर सेग्मेन्टका मोटरसाइकलको बिक्री धेरै हुने भए पनि पछिल्लो समय स्पोर्ट्स, एडेभेन्चर, प्रिमियम सेग्मेन्टका मोटरसाइकलको माग पनि बढ्न थालेको हो ।

राइडिङ कल्चर बढ्दै जानु, युवा पुस्ताको क्रयशक्ति र जीवनशैली परिवर्तन हुनु, कम्युटरबाट अपग्रेड हुने वर्ग बढ्नु, बजारमा आधुनिक सुरक्षा फिचरयुक्त मोटरसाइकल आउनु लगायत कारणले प्रिमियम मोटरसाइकलको माग बढ्दै गएको हो ।

त्यसैले बिक्रेताहरूले एकपछि अर्को नयाँ प्रिमियम मोटरसाइकल नेपाल भित्र्याइरहेका छन् । हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा साना क्षमतामा नयाँ मोटरसाइकल नै लन्च भएनन् । तर, दुवै अटो शोमा प्रिमियम मोटरसाइकल र इलेक्ट्रीक स्कुटरको वर्चश्व रहेको थियो ।

अटो शो मार्फतै नै आधादर्जन नयाँ प्रिमियम मोटरसाइकल नेपाली बजारमा आएका छन् । यसअघि नै दर्जन बढी अप्सन रहेको प्रिमियम सेगमेन्ट नयाँ मोडल थपिएसँगै प्रतिस्पर्धा झन् रोचक भएको छ । ग्राहकले पनि आवश्यकता र बजेट अनुसारको थप नयाँ विकल्प छनोट गर्ने अवसर पाएका छन् ।

यहाँ हामीले अटो शो मार्फत बजारमा आएमा ५ नयाँ प्रिमियम मोटरसाइकलको चर्चा गरेका छौं ।

मोर्बिडेली २५० एक्स

वैद्य्ज अर्गनाइजेशनले नेपालमा नाइमा मोबिलिटी एक्स्पो मार्फत मोर्बिडेलीको सबैभन्दा सस्तो मोटरसाइकल टी २५० एक्स नेपाल प्रवेश गराएको थियो । कम्पनीले यसको मूल्य ६ लाख २० हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

कम तौल भएको र इन्ट्रीलेभल एड्भेन्चर मोटरसाइकल खोज्नेका लागि यो मोटरसाइकल निकै उपयोगी छ । मोर्बिडेली टी २५० एक्समा २४९.४ सीसीको सिंगल सिलिण्डर, फोर भल्भ, एयर कुल्ड इएफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ७५०० आरपीएममा २२.४ हर्सपावर तथा ६००० आरपीएममा २२.३ एनएमको टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड गियरबक्स उपलब्ध छ भने टप स्पिड करिब ११५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

डबल क्रेडल फ्रेममा निर्माण गरिएको यो मोटरसाइकलमा र्याली एडीभीबाट प्रेरित अग्लो फ्रन्ट डिजाइन, अग्लो फेण्डर, १७७ एमएम फ्रन्ट र ५५ एमएम रियर ट्राभल सेटअप, लङ (ट्राभल अपसाइड) डाउन यूएसडी फ्रन्ट फोर्क, रियर प्रिलोड एड्जस्टेबल मोनोशक, स्पोक ह्वील, डिस्क ब्रेक र डुअल पर्पस टायर प्रयोग गरिएको छ । जसले जुनसुकै सडक वा अफरोड मार्गमा पनि उत्कृष्ट नियन्त्रण, स्थिरता र भरपर्दो प्रदर्शन दिन्छ ।

अल्ट्रा भोइलेट एक्स ४७

नयाँ विकल्पको रूपमा आएको अर्को प्रिमियम मोटरसाइकल हो, अल्ट्राभोइलेट एक्स ४७ क्रसओभर । वैद्यज् अर्गनाइजेसनले यो मोटरसाइकल पनि नाइमामा लन्च गरेको थियो । कम्पनीले यसको सुरूआती भेरियन्टको ६ लाख ८५ हजार रुपैयाँ र टप भेरियन्टको १० लाख ४० हजार रुपैयाँ तोकेको छ ।

विद्युतीय मोटरसाइकल भएर पनि यो मोटरसाइकल अफरोडसँगै डेली कम्युटका लागि समेत उपयुक्त छ । यसको ठूलो विन्डस्क्रीन, नकल गार्डसहितको अग्लो ह्याण्डलबार सेटअप, सिंगल पिस सिट, अप्सनल एशेसरिज, साइडलाइटहरू र पेनियरले मोटरसाइकल टुरिङ र अफरोडका लागि धेरै उत्कृष्ट रहेको देखिन्छ ।

निकै एड्भान्स टेक्नोलोजीमा निर्माण गरिएको मोटरसाइकलमा हाइपरसेन्स नामक राडार असिस्टेड सिस्टम र एडास फिचर दिइएको छ । यसले चालकलाई निकै सहायता प्रदान गर्छ । राडर सिस्टमले ब्लाइण्ड स्पट निगरानी, पछाडिको टक्कर चेतावनी, लेन परिवर्तन अलर्ट र ओभरटेकिङ सहायता जस्ता सुविधाहरूलाई सक्षम बनाउँछ ।

एक्स ४७ क्रसओभर मोटरसाइकलमा कम्पनीले ३० किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । यसले ६१० एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १४५ किलोमिटर प्रतिघण्टा छ, यसले मात्र २.७ सेकेण्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

मोटरसाइकलमा १०.३ किलोवाट आवरको ब्याट्रीप्याकमा छ । यसले एकपटकको फुलचार्जमा ३२३ किलोमिटरसम्म रेन्ज दिने छ ।

ट्रायम्फ स्पीड टी ४

ट्रायम्फले नेपालमा पहिलोपटक आफ्नो लाइनअपको सबैभन्दा कम सीसीको स्पीड टी ४ भित्र्याएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले नाइमामा स्पीड टी ४ को मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

स्पीड ४०० कै प्लेटफर्ममा निर्माण भएको टी ४ मा ३४९ सीसी सिंगल सिलिण्डर इन्जिन रहेको छ । यो इन्जिनले २९ हर्ष पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

मोटरसाइकलमा गोलाकार एलईडी हेडलाइट, गोलाकार १३ लिटरको ट्याङ्की डिजाइन र पातलो टेल इण्ड छ । यसमा ट्याकोमिटर, ओडोमिटर, ट्रिप मिटर र अन्य जानकारी देखाउने अल न्यु डुअल फम्र्याट इन्स्ट्रमेन्ट एलसीडी क्लस्टर दिइएको छ ।
स्पीड टी ४ मा कम्फर्टेवल सिट, म्यानुअल थ्रोटल बडी कन्ट्रोल, स्लिपर क्लच, ४३ एमएम टेलिस्कोपिक फोर्क, मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्क ब्रेकसँगै डुअल च्यानल एबीएस, टर्क असिस्ट स्लिपर क्लच, यूएसबी पोर्ट, फुल एलईडी लाइट, १७ इन्च एलोय ह्वील जस्ता फिचरहरू पाउन सकिन्छ ।

यामाहा एक्सएसआर १५५

नाडा अटो शोमार्फत नेपालमा सानो इन्जिनको प्रिमियम मोटरसाइकल यामाहा एक्सएसआर १५५ ले पनि इन्ट्री गरेको छ । एमएडब्लू राइड्सले एक्सएसआर १५५ को सुरूआती मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ र टप भेरियन्टको ५ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ ।

यो मोटरसाइकल इन्जिन क्षमताका आधारमा सानो देखिए पनि फिचर र पर्फमेन्सका आधारमा निकै प्रिमियम छ । नियो क्लासिक रेट्रो क्रुजर सेग्मेन्टमा आधारित एक्सएसआर १५५ दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको मोटरसाइकल हो ।

यसमा डेल्टा बक्स फ्रेम, गोलाकार एलईडी हेडलाइट सेटअप, टियरड्रप आकारको फ्युल ट्यांक, फ्ल्याट सिंगल पिस सिट, १३७ किलोग्राम तौल, १२० एमएम ग्राउण्ड क्लियरेन्स र १० लिटरको फ्युल ट्यांक दिइएको छ ।

यसमा १५५ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी, एफआई, भीभीए इन्जिन रहेको छ । यसले अधिकतम १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै असिस्ट र स्लिपर क्लच पनि छ ।

साथै, मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक यूएसडी फोर्क र रियरमा स्वीङआर्म लिंक मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, ट्युबलेस टायर र कलर म्याचिङ अलोय ह्वील रहेको छ ।

त्यस्तै, वाइ स्मार्टफोन कनेक्टिभिटी सिस्टम सहितको पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, कल एसएमएस अलर्ट, पूरा एलईडी लाइट, डीआरएल, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रीक स्टार्टर लगायत फिचरहरू पाउन सकिन्छ ।

रोयल इनफिल्ड क्लासिक ३५० गोर्खा एडिशन

प्रिमियम मोटरसाइकल सेग्मेन्टमा रोयल इनफिल्डको आफ्नै छुट्टै पहिचान छ । यही पहिचानमा कम्पनीले थप नयाँ विकल्प उपलब्ध गराएको छ । अल्फा अटोमोटिभले गत अटो शोभन्दा केही दिन अघि गोर्खा एडिशन क्लासिक ३५० नेपाली बजारमा लन्च गरेको थियो ।

कम्पनीले क्लासिक ३५० गोर्खा एडिसनको सुरूआती मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । वशेष संस्करणलाई मुख्यतः नयाँ कलर र गोर्खा एडिसनका लागि तयार पारिएका ग्राफिक्समार्फत फरक बनाइएको छ ।

गोर्खा एडिसनको सबैभन्दा ठूलो आकर्षण यसको नयाँ लाइट मिलिटरी (ओलिभ) ग्रीन कलर हो । सैनिक सवारीसाधनमा देखिने हरियो रंगसँग मिल्दोजुल्दो यो कलरले मोटरसाइकललाई विशेष सैन्य लुक प्रदान गरेको छ ।

यो रंग गोर्खा रेजिमेन्टसँग जोडिएको पहिचानलाई समेत झल्काउने गरी तयार पारिएको देखिन्छ । यसका साथै साइड प्यानलमा गोर्खा एडिसन विशेष ग्राफिक्स र क्रस्ड खुकुरीको मोटिफ सहित गोर्खा एडिसनको ब्रान्डिङ राखिएको छ ।

गोर्खा एडिसनमा नियमित क्लासिक ३५० कै ३४९ सीसी, सिंगल सिलिण्डर, एयर र आयल कुल्ड, जे सिरिज इन्जिन प्रयोग भएको छ । यस इन्जिनले २०.२ बीएचपी पावर र २७ एनएम टर्क उत्पादन गर्छ । इन्जिनलाई ५ स्पीड गियरबक्ससँग जोडिएको छ ।

भारतीय सेनाका प्रतिष्ठित गोर्खा रेजिमेन्टप्रति सम्मानस्वरूप ल्याइएको क्लासिक ३५० मा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रयोग गरिएको छ । यसमा एनालग स्पिडोमिटर र एलसीडी डिस्प्ले उपलब्ध छ ।

यसअघि नै दर्जन बढी अप्सन रहेको प्रिमियम सेगमेन्टमा नयाँ मोडल थपिएसँगै प्रतिस्पर्धा झन् रोचक भएको छ । ग्राहकले पनि आवश्यकता र बजेट अनुसारको थप नयाँ विकल्प छनोट गर्ने अवसर पाएका छन् ।

 


Back_to_top