काठमाडौं । केटीएमले र्याली सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले युरोपेली बजारमा नयाँ केटीएम ६९० र्याली मोटरसाइकल लन्च गरेको हो ।
कम्पनीको चर्चित ६४० एड्भेन्चरको स्पिरिचुअल सक्सेसरका रूपमा बजारमा आएको ६९० र्याली मोटरसाइकल केटीएमको ६९० इन्ड्युरो आरमा आधारित छ ।
६९० इन्ड्युरोमा आधारित भएता पनि कम्पनीले यसलाई लामो दूरीको कठिन अफरोड तथा ट्रेल राइडिङलाई ध्यानमा राख्दै थप उपकरण र ठूलो इन्धन क्षमता दिएको छ ।
केटीएम ६९० र्याली मोटरसाइकलको सबैभन्दा ठूलो विशेषता यसको २० लिटरको कुल फ्युल क्षमता हो । जसमा पछाडि १३ लिटरको मुख्य ट्यांकसँगै अगाडि दुईवटा ३.५ लिटरको सहायक ट्यांक पाइन्छ ।
राइडरले आवश्यकताअनुसार मोटरसाइकलको कुन ट्यांकबाट इन्धन प्रयोग गर्ने भन्ने छनोट गर्न सक्छन् । यसले अफरोड राइडिङका क्रममा अगाडि र पछाडिको तौलको सन्तुलन मिलाउन सहयोग गर्छ ।
र्याली मा ६९३ सीसीको एलसी ४, सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम ७९ एचपी पावर तथा ७३ न्युटन मिटर टर्क उत्पादन गर्छ ।
इन्जिनसँगै यसको अधिकांश च्यासिस तथा मेकानिकल कम्पोनेन्ट ६९० इन्ड्युरोबाटै लिइएको छ । यसमा अप-डाउन क्विकशिफ्टर र दुईवटा स्ट्याण्डर्ड राइड मोड स्ट्रीट र अफरोड उपलब्ध छ ।
मोटरसाइकललाई फरक बनाउने अर्को प्रमुख पक्ष यसको अगाडिको अग्लो डिजाइन हो । यसमा इन्टिग्रेटेड विन्डस्क्रीनसँगै ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
साथै, यसको हेडलाइट केटीएमको नयाँ एड्भेन्चर मोडलबाट प्रेरित डिजाइनमा आधारित छ । मोटरसाइकलको अगाडि भागमा १२ भोल्ट चार्जिङ पोर्ट तथा यूएसबी टाइप सी पोर्ट पनि छ ।
केटीएमले यसमा र्याली मोडलाई वैकल्पिक फिचरका रूपमा उपलब्ध गराएको छ । यसमार्फत राइडरले थ्रोटल प्रतिक्रिया, ट्रयाक्सन कन्ट्रोल, एबीएस तथा क्विकशिफ्टरको व्यवहारलाई आफ्नो आवश्यकता अनुसार समायोजन गर्न सक्छन् ।
र्याली मोडमा डाइनामिक स्लिप एड्जस्ट पनि समावेश छ । यसले ह्वीलमा उपलब्ध ट्रयाक्सनअनुसार ट्र्याक्सन कन्ट्रोललाई रियल टाइममा समायोजन गर्न मद्दत गर्छ ।
अफरोड क्षमतालाई ध्यानमा राख्दै यसमा पूर्ण रूपमा एड्जस्ट गर्न मिल्ने डब्लूपी एक्सप्लोर सस्पेन्सन प्रयोग गरिएको छ । जसमा अगाडि २३५ एमएम ट्राभल भएको यूएसडी फोर्क दिइएको छ भने पछाडि २५० एमएम ट्राभल भएको लिंक्ड मोनोशक छ ।
अगाडिको फोर्कमा कम्प्रेसन र रिबाउण्ड एड्जस्टमेन्ट तथा पछाडिको मोनोशकमा लो स्पीड र हाई स्पीड कम्प्रेसन, प्रिलोड र रिबाउण्ड एड्जस्टमेन्ट उपलब्ध छ ।
केटीएमको एड्भेन्चर, इन्ड्युरो र र्याली मोडलहरू कालोपत्र तथा अफरोड दुवै सडकमा चलाउन सकिने किसिमका हुन्छन् ।


