काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले सडकमा ट्राफिक प्रहरीले हात हल्लाएर सवारी व्यवस्थापन गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्राफिक व्यवस्थापनका लागि आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका हुन् ।
उनले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सीसीटीभी लगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए ।
‘सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बीचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि एआई सक्षम सीसीटीभी क्यामेरा लगायत आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ,’ उनले भने।
साथै, बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ ।


