काठमाडौं । हिरो मोटोकर्पले ग्ल्यामर एक्स १२५ मोटरसाइकलको नयाँ भेरियन्ट भारतमा सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा १ लाख १ हजार भारु (एक्स शोरुम) तोकेर नयाँ भेरियन्ट ग्ल्यामर एक्स १२५ मोटरसाइकलको बिक्री सुरू गरेको हो ।
नयाँ भेरियन्ट ग्लामरमा सिंगल च्यानल एबीएससहित इन्टिग्रेटेड ब्रेकिङ सिस्टम (आईबीएस) सिस्टम थपिएको हो । १२५ सीसी सेग्मेन्टमै पहिलो एबीएस र आईबीएस फिचर भएको यो पहिलो मोटरसाइकल हो ।
नयाँ ग्ल्यामर एक्स १२५ मा सिंगल च्यानल एबीएस र आईबीएसको संयोजन दिइएको छ । हिरोका अनुसार यसले ब्रेकिङ स्थिरता सुधार गर्नुका साथै आपत्कालीन अवस्थामा थप प्रभावकारी ब्रेकिङमा सहयोग गर्छ । यसमा प्यानिक ब्रेक अलर्ट र हाजार्ड ल्याम्प पनि उपलब्ध छ ।
नयाँ एबीएस भेरियन्टमा गन मेटल ग्रे र म्याट एक्सिस ग्रे गरी दुई नयाँ कलर थपिएको छ । यसका अलावा नयाँ भेरियन्टमा ग्ल्यामर एक्सको पुरानै डिजाइन तथा अन्य फिचरहरूलाई निरन्तरता दिइएको छ ।
यसमा एडाप्टिभ मल्टी-कलर कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, कल तथा एसएमएस अलर्ट, टाइप-सी यूएसबी चार्जिङ पोर्ट, डुअल अन्डर-सिट मोबाइल स्टोरेज, लामो सिट र लो सिट हाइट उपलब्ध छ ।
त्यस्तै, मोटरसाइकलमा इको, रोड र पावर गरी तीन राइडिङ मोड तथा क्रुज कन्ट्रोल दिइएको छ । यसमा हिरोको १२५ सीसी स्प्रिन्ट-ईबीटी इन्जिन जडान गरिएको छ, जसले ११.४ बीएचपी पावर उत्पादन गर्छ ।


