काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको पार्किङ व्यवस्थित बनाउन बहुतले (मल्टोस्टोरी) पार्किङ बनाउने प्रस्वात गरेको छ ।
महानगरले मल्टोस्टोरी पार्किङ बनाउन न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवन उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको हो ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार महानगर प्रहरी बलको ३४ औँ स्थापना दिवसका अवसरमा बढ्दो पार्किङ समस्या समाधान गर्न मल्टीस्टोरी पार्किङको व्यवस्था गर्न लागिएको जानकारी दिएकी हुन् ।
उनले यसका लागि निगमको भवनलाई मल्टीस्टोरी पार्किङ बनाउन अनुमति दिन संघीय सरकारसँग विशेष अनुरोध गरिएको बताइन् ।
‘काठमाडौंको कोर एरियामा पार्किङको समस्या दिनप्रतिदिन बढ्दो छ । यसको व्यवस्थापन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन,’ उनले भनिन्, ‘न्यूरोडमा रहेको एनएसी बिल्डिङलाई मल्टीस्टोरी पार्किङ बनाउन महानगरलाई इजाजत दिन हामीले संघीय सरकारसँग विशेष अनुरोध गरेका छौँ । यो भएपछि कोर एरियामा रहेको पार्किङ समस्या समाधान हुनेछ,’ उनले भनिन् ।
उनले यस बारे विज्ञहरूले अध्ययन गरिरहेको जानकारी दिइन् । प्रतिवेदन प्राप्त भएपछि दिइएको सुझाव अनुसार काम अघि बढाइने उनको भनाइ छ ।


