कुन कुन चिनियाँ ब्राण्डका ईभी नेपालमा किन्न पाइन्छ ?

काठमाडौं । नेपाली बजारमा दर्जनौं कार ब्राण्ड आए । दुई दर्जन बढी चिनियाँ ब्राण्डले आफ्नो उत्पादन अहिले पनि बिक्री गर्दै आएका छन् ।

त्यसमध्ये धेरै ब्राण्डले अधिकतम दुई भन्दा बढी मोडल बजारमा ल्याउन सकेका छैनन् । बीवाइडी, एमजी, लिपमोटर, दीपल, जेको, आयन, नामीजस्ता ब्राण्डले दुई वा दुईभन्दा बढी मोडल ल्याएर बिक्री गरिरहेका छन् ।

तीव्र नयाँ मोडल खोज्ने नेपाली उपभोक्ताको चाहनाको कारण कार निर्माताले निरन्तर नयाँ उत्पादन दिन नसक्ने हो भने जुनसुकै ब्राण्ड संकटमा जाने देखिन्छ । नेपाल अहिले चिनियाँ कारको औषत आयु २ वर्षभन्दा कम देखिएको छ ।

ईभीको हकमा कोरियन होस् वा इन्डियन प्रोडक्ट निरन्तर अपग्रेड भएन भने त्यसको आयु २ वर्षभन्दा माथि देखिएको छैन । त्यसैले धेरै ब्राण्डहरूलाई भविष्यमा आफ्नो शाख जोगाउनै मुस्किल पर्ने अवस्था आउने देखिन थालेको छ । उसोत अहिलेको बजारमा उपलब्ध अप्सन भेलजस्तै आएको छ । सायद, रोकिएला ।

नेपालमा मास मार्केट ब्राण्डका विद्युतीय कार बेच्ने कम्पनी संचालनमा रहनकै लागि मात्रै पनि वार्षिक २०० युनिट माथि गाडी बिक्री गर्नुपर्छ । त्यो संख्या नआउने बित्तिकै ब्राण्डकै भविष्य अन्धकार हुने अवस्था छ ।

त्यसैले ब्राण्ड जोगाउने चुनौतीका बीच कार बिक्रेताहरू बजारमा टिक्न संघर्ष गरिरहेका छन् ।

अहिले बजारमा कुन-कुन चिनियाँ ब्राण्ड छन् ?

चिनियाँ ब्राण्ड भन्ने बित्तिकै दर्जनौं छन् भन्ने मानिसको दिमागमा छ । तर कुन कुन ब्राण्ड सक्रिय छन् भन्ने याद गर्न धेरै समय लाग्छ । अहिले चीनबाट गाडी ल्याउने ब्राण्डमा सबैभन्दा अगाडि बीवाइडीको नाम आउँछ । बीवाइडी विगत ३ वर्षदेखि नेपालमा सर्वाधिक कार बिक्री गर्ने कम्पनी बन्दै आएको छ । बीवाइडीकै अर्को प्रिमियम ब्राण्ड डेन्जा पनि नेपालमा उपलब्ध छ ।

त्यसैगरी चेरी ग्रुप अन्तर्गतको ओमोडा, जेको, आइकार र चेरी क्यू उपलब्ध छन् । यी ब्राण्डका विद्युतीय कार पनि नेपालमा राम्रो संख्यामा बिक्री हुँदै आएको छ ।

चिनियाँ ईभी संख्यात्मक रूपमा धेरै बिक्री गर्ने कम्पनीमा एमजी पर्छ । एमजीले सन् २०१९ देखिनै राम्रो संख्यामा ईभी बिक्री गर्दै आएको छ ।

डोङफेङ नामी, दीपल, चांगान, नेभो जस्ता ब्राण्ड पनि नेपाली बजारमा सफलता पाइसकेका र सफलको बाटोमै रहेका ब्राण्ड हुन् । त्यस्तै वुलिङ, होङछी, लिपमोटर, जिली, स्काइवेल, आर्कफक्स, केई, डोङफेङ फरथिङ, बीएआइसी जस्ता ब्राण्डका उत्पादन पनि नेपाली बजारमा छन् ।

नेपाली बजारमा प्रिमियम सेग्मेन्टमा आएका अवतार, एक्सपेङ र जिकर जस्ता ब्राण्ड पनि छन् । त्यसका अलावा जीएसी आयन, स्मार्ट, मेक्सस, दायुनका उत्पादन पनि यहाँ बिक्री भइरहेका छन् ।

साना कारमा ब्रम्बी, हेनरी, जिङपिङ, हाउजे, होनरी बोमा, किवे, लिङटुर र ईएनयू जस्ता ब्राण्डका उत्पादन पनि बजारमा छन् ।

चीनकै बलियो मध्येको एक ब्राण्ड ग्रेटवाल मोटर्सका उत्पादन पनि नेपालमा बिक्री भइरहेका छन् । जेएमईभी पनि बजारमा किन्न पाइने ब्राण्ड हो । पिकअप ब्राण्डमा रिडारा पनि उपलब्ध छ ।


Back_to_top