काठमाडौं । नेपाल बैंकले चाडपर्वको अवसरमा गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ४.९४ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराइरहेको छ । बैंकले असोज मसान्तसम्म यो स्कीम पाइने जनाएको हो ।
बैंकका अनुसार अटो कर्जा २ वर्षदेखि ७ वर्षसम्मको अवधिका लागि लिन सकिनेछ । ग्राहकले आफ्नो वित्तिय योजना अनुसार कर्जा अवधि निर्धारण गरेर कर्जा लिन सक्नेछन् ।
नेपाल बैंकले अटोकर्जा लिने ऋणबाट सेवा शुल्क वापत भने कुल कर्जा रकमको ०.५ प्रतिशत लिनेछ ।
कर्जा लिनको लागि के के चाहिन्छ कागजात
बैंकबाट कर्जा लिनका लागि नेपाली नागरिकको उमेर कर्जा प्रवाहका समयमा कम्तीमा १८ वर्ष पुगेको हुनुपर्नेछ । साथै, ऋणको किस्ता र ब्याज तिर्न पुग्ने स्थिर तथा नियमित आम्दानीको स्रोत खुल्ने कागजात चाहिन्छ ।
गाडी कर्जा लिने मानिसको नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानी, पासपोर्ट साइजको फोटो तथा सम्बन्धित स्थानीय तहबाट जारी पारिवारिक विवरण बुझाउनुपर्नेछ । व्यवसायबाट आम्दानी गर्नेले फर्म दर्ता प्रमाणपत्र र प्यान/भ्याट प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।
आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली, साझेदारी सम्झौता र अन्य कागजातसमेत बैंकले माग्न सक्छ ।
त्यसैगरी, खरिद गर्न लागेको गाडीको मूल्य, मोडल र फिचरसहितको आधिकारिक कोटेसन बनाएर बैंकमा लानु पर्नेछ ।
आम्दानी प्रमाणित गर्न मासिक तलब पाएको प्रमाण, पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट, नियुक्तिपत्र र परीक्षणकाल पूरा गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
घरभाडाबाट आम्दानी हुनेले भाडा सम्झौता, भाडामा बस्ने व्यक्तिको परिचय, कर रसिद तथा सम्पत्तिको विवरण बुझाउनु पर्नेछ ।
व्यवसाय वा फर्मको हकमा लेखापरीक्षण भएको वित्तीय विवरण, अनुमानित वित्तीय विवरण र कर चुक्ता प्रमाणपत्र वा आम्दानीसम्बन्धी रसिद पेश गर्नुपर्नेछ । २५ लाख रुपैयाँ वा सोभन्दा बढी कर्जा लिनेले प्यान नम्बरसमेत अनिवार्य रूपमा बुझाउनु पर्नेछ ।


