१२५ सीसीको मोटरसाइकलमा ट्वीन सिलिण्डर इन्जिन, किन छ खास ?

काठमाडौं । नेपालमा मोर्बिडेलीका मोटरसाइकल निकै चर्चामा छन् । कम्पनीले बिग बाइक सेग्मेन्टमा २५० सीसीदेखि १००० सीसीसम्मका मोटरसाइकल ल्याएर चर्चा कमाएको हो ।

यहाँ मोर्बिडेली चाहनेहरुको लागि नयाँ खबर आएको छ । इटालियन ब्रान्डले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याएरसँगै धेरैको पहुँचमा मोर्बिडेली गुग्ने भएको हो ।

अन्तर्राष्ट्रिय बजार सार्वजनिक भएको मोर्बिडेली एन–१२५ मोटरसाइकल पनि भी ट्वीन सिलिन्डर इन्जिनमा उपलब्ध भएको छ । कम्युटर सेग्मेन्टमा मात्रै सानो १२५ सीसी क्षमताको इन्जिन भएका मोटरसाइकल आइरहेको समयमा मोर्बिडेलीले प्रिमियम विशेषतासहितको मोटरसाइकल बजारमा ल्याएको हो ।

मोर्बिडेली एन-१२५ भीमा १२४.९ सीसी, लिक्विड-कुल्ड भी ट्वीन इन्जिन छ । यो सेग्मेन्टमा भी ट्वीन इन्जिन अत्यन्तै कम मोटरसाइकलमा मात्रै पाइन्छ ।

परम्परागत सिंगल सिलिन्डर इन्जिनको तुलनामा भी ट्वीन इन्जिनले कम भाइब्रेसनका साथ स्मुथ टर्क डेलिभरीसँगै रिफाइन राइडिङ अनुभव प्रदान गर्छ । यो मोटरसाइकल सहर तथा हाइवेका लागि समेत उपयुक्त मानिन्छ ।

मोर्बिडेलीको नयाँ मोटरसाइकल भी ट्वीन इन्जिनले मात्र होइन, यसमा प्रयोग भएको ट्रेलिस फ्रेम र आकर्षक सिंगल-साइडेड स्वीङआर्मका कारण पनि निकै खास छ । कम्पनीले यसमा बाहिरबाटै देखिने स्टिल ट्रेलिस फ्रेम दिइएको छ, जसले मोटरसाइकललाई बलियो साथै नेकेड लुक प्रदान गरेको गर्छ ।

त्यस्तै, १२५ सीसी सेग्मेन्टमै नौलो मानिने सिंगल साइडेड आल्मुनियम स्वीङआर्म यसमा समावेस गरिएको छ । यसले बाइकको प्रिमियम र सुपरबाइक जस्तो डिजाइन दिनुका साथै रियर ह्वीलको एक्सेसिबिलिटी तथा सन्तुलन अझ राम्रो बनाउँछ ।

यो मोटरसाइकलको अगाडि ३७ एमएमको अपसाइड डाउन फोर्क र पछाडि प्रिलोड एडजष्टेबल मोनोशक सस्पेन्सन दिइएको छ । अगाडि ३०० एमएमको ठूलो डिस्क र ४ पिस्टन क्यालिपर तथा पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध छ । डुअल च्यानल एबीएस र ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर यो मोटरसाइकल पाउन सकिन्छ ।

भी ट्वीन इन्जिन, सिंगल साइडेड स्वीङआर्म, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर भएका कारण यो मोटरसाइकलको मूल्य ४ हजार ५०० अमेरिकी डलर हाराहारी पर्ने अनुमान छ ।

महंगो मूल्यका कारण पनि यसलाई नेपाल ल्याउने सम्भावना भने अत्यन्त न्यून देखिन्छ ।


Back_to_top