नेभो क्यू ०५ को डेलिभरी सुरू हुँदै

काठमाडौं । नेपालमा चांगान नेभो क्यू ०५ इलेक्ट्रीक एसयूभीको डेलिभरी चाँडै सुरू हुने भएको छ ।

नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटोकर्पले केही दिन भित्रै नेभो क्यू ०५ ग्राहकलाई डेलिभरी दिने तयारी गरेको हो ।

नेभो क्यू ०५ नेपालमा भदौ पहिलो साता सार्वजनिक भएको थियो । कम्पनीका अनुसार यो एसयूभीले नाडा अटो शोमा ठूलो संख्यामा बुकिङ प्राप्त गरेको थियो । ती ग्राहकलाई केही दिन भित्रै गाडी डेलिभरी दिन सुरू गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले नेभो क्यू ०५ को म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र अल्ट्रा भेरियन्टको ५१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नाडा अटो शोमा उक्त मूल्यमा दुवै भेरियन्टमा समान २ लाख रुपैयाँ छुट दिएको छ ।

नेभो क्यू ०५ चीनमा पछिल्लो ५ महिना यता लगातार आफ्नो सेग्मेन्टमा सर्वाधिक बिक्री हुने कार बन्दै आएको छ । चीनको पछिल्लो खुद्रा बिक्री तथ्यांकअनुसार अगस्टमा क्यू ०५ का १७ हजार ३४९ युनिट बिक्री भएका छन्। यो नतिजाले अप्रिलदेखि अगस्ट २०२६ सम्म कम्प्याक्ट एसयूभी सेग्मेन्टमा क्यू०५ को नेतृत्वलाई निरन्तरता दिएको छ। पछिल्लो ५ महिनामै क्यू ०५ कुल ८६ हजार ८९६ युनिट खुद्रा बिक्री भइसकेको छ ।

नेभोले चिनयाँ बजारमा टोयोटा कोरला क्रस, जिली बोयूए एल, जिली स्टार्रे लगायत मोडललाई पछि पारिरहेको छ । त्यसैगरी, विभिन्न अन्तर्राष्ट्रिय बजारमा बीवाइडी सिलायन ५ का रूपमा बिक्री हुने बीवाईडी सङ प्रो न्यू इनर्जी, जिली मोन्जारो लगायतलाई उछिनेको छ ।

लोकप्रियता बढ्नुका प्रमुख कारण

क्यू०५ को लोकप्रियताको मुख्य कारण स्पेस, कम्फर्ट, प्रविधि र मूल्यको बलियो संयोजन हो। यसको २,७३५ एमएम ह्विलबेसले फराकिलो क्याबिन उपलब्ध गराउँछ। ढल्काउन मिल्ने पछाडिका सिट, व्यावहारिक लगेज क्षमता, नौ तहको सिट निर्माण र धेरैवटा स्टोरेज स्पेसले यसलाई परिवारका लागि उपयोगी बनाउँछन्।

सीएटीएल ब्याट्री सेल र ३ सी फास्ट चार्जिङ प्रविधिले उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ। आधुनिक डिजाइन, एरोडाइनामिक प्रोफाइल, स्मार्ट फिचर र प्रिमियम देखिने इन्टेरियरले पनि युवा तथा प्रविधिप्रेमी ग्राहकमाझ यसको आकर्षण बढाएको छ।

चीनको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा लगातार पाँच महिनाको नेतृत्वले चांगान निभो क्यू०५ लाई बलियो बजार मान्यता प्रदान गरेको छ। यसको निरन्तर सफलताले ग्राहकहरूले पहुँचयोग्य मूल्यभित्रै कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा ‘अ क्लास अबभ’ अनुभव दिने ईभीलाई प्राथमिकता दिन थालेको देखाउँछ।

१८५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको नेभो क्यू ०५ को लम्बाइ ४४३५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम छ । यसमा २७३५ मिलिमिटर ह्वीलबेस पाउन सकिन्छ ।

नेभो क्यू ०५ एसयूभीमा ५१.९ किलोवाट आवरको गोल्डेन शिल्ड २.० एलएफपी ब्याट्री प्याक छ । जसले एकपटकको फुलचार्जमा ४६२ किलोमिटर एनईडीसी रेन्ज दिने कम्पनीको दाबी छ ।यो एसयूभीले १६२ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।

यसमा १२० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १६३ हर्ष पवार तथा १९० न्युटन मिटर टर्क प्रदान गर्छ । यसले शून्यदेखि १०० किमी प्रतिघण्टाको स्पीड भेटाउन ८.२ सेकेण्ड लगाउँछ ।


Back_to_top