काठमाडौं । बेलायत सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी-रसुवागढी सडकखण्डको पुनर्निर्माण तथा पुनस्र्थापनामा सहयोग गर्ने भएको छ ।
पूर्वाधार विकास मन्त्री सुनील लम्साल र बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्युसहितको प्रतिनिधिमण्डल बीच सोमबार भएको भेटवार्तामा बाढीपछिको पुनर्निर्माण प्राविधिक तथा आर्थिक सहयोग गर्ने बारे छलफल भएको हो ।
छलफलका क्रममा वरिष्ठ विकास काउन्सिलर एलेक्स गल्छी-रसुवागढी सडकखण्डमा आवश्यक पर्ने बेलिब्रिज उपलब्ध गराउनुका साथै सो क्षेत्रमा हुने पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि आवश्यक प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने बताएको मन्त्रीको सचिवालयले जनाएको छ ।
बाढीले गल्छी–रसुवागढी सडकको करिब ७० किलोमिटर सडक र ३ दर्जन मोटरेबल पुलमा क्षति पुर्याएको छ । सडक संचालनका लागि सरकारले तत्काल वैकल्पिक संरचना निर्माण तथा क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनाको काम अघि बढाइरहेको छ ।
साथै नेपाल सरकारद्वारा अघि बढाइएका दिगो वित्तीय व्यवस्थापन, डिजिटल रुपान्तरण एवं विपद उत्थानशील विकासका क्षेत्रमा समेत बेलायत सरकारबाट महत्वपूर्ण सहयोग उपलब्ध हुने प्रतिबद्धता ब्यक्त भएको छ ।

