काठमाडौं । २० टन तौलको ट्रकले किच्दा पनि जिकर ००९ विद्युतीय गाडीको सिटमा प्रयोग भएको फोममा कुनै क्षति नपुगेको कम्पनीको दाबी छ । जिकरका अधिकारीहरूले सार्वजनिक गरेको परीक्षण भिडियोमा सिटको फोमलाई क्रमशः ९ वटा यात्रुवाहक गाडी र त्यसपछि २० टन तौलको भारी ट्रकले किचेको देखिन्छ ।
परीक्षणमा १.९ टन तौलको जिकर एक्सदेखि २.९ टन तौलको जिकर ००९ सम्मका नौवटा गाडी प्रयोग गरिएको थियो । ती सबैको संयुक्त तौल करिब २० टन रहेको कम्पनीको भनाइ छ । त्यसपछि २० टन तौलको ‘फारिजोन होमट्रक’ समेत उक्त फोममाथि गुडाइएको थियो ।
परीक्षणपछि फोमको संरचनामा कुनै परिवर्तन नआएको र यसको कम्पन नियन्त्रण गर्ने क्षमतामा समेत कमी नदेखिएको जिकरले जनाएको छ । कम्पनीका अनुसार जिकर ००९ मा तीन तहको ‘स्यान्डविच’ संरचनामा सिट फोम विकास गरिएको छ ।
माथिल्लो तहमा उच्च लचकताको फोम, बीचमा उच्च घनत्वको फोम र तल्लो तहमा नरम फोम प्रयोग गरिएको छ । यसको कम्पन नियन्त्रण क्षमता सामान्य सिट फोमको तुलनामा १.५ गुणा बढी रहेको कम्पनीको दाबी छ ।
जिकरले ००९ को दोस्रो पंक्तिका सिटमा नप्पा लेदर, १८० डिग्री घुमाउन सकिने सुविधा, शून्य–गुरुत्वाकर्षण आसन, खुट्टा राख्ने सुविधा, २२ स्थानमा मसाज, हिटेड र भ्यान्टिलेटेड सिट दिएको छ ।

