काठमाडौं । यातायात व्यवस्था विभागले जथाभावी सार्वजनिक यातायातको अग्रिम टिकट काट्ने माथि कडाइ गरेको छ ।
विभागले सरोकारवालाहरूलाई १५ बुँदे निर्देशन जारी गर्दै अनधिकृत काउन्टर, परिचयपत्र वा पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने काम रोक्न निर्देशन दिएको हो ।
विभागले आगामी दशैं, तिहार, छठका अग्रिम टिकट बुकिङ खुलाइने जनाएको छ । यद्यपि, कुन मितिदेखि बुकिङ खुलाउने भन्ने तोकेको छैन ।
यातायात व्यवसायीलाई टिकट बिक्रीमा यथासम्भव अनलाइन बुकिङको व्यवस्था मिलाउन निर्देशन दिएको छ । काउन्टरबाट टिकट बिक्री गर्दा यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट जारी गर्ने कर्मचारीका लागि पनि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने छ । साथै, यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्रै सवारी संचालन गर्नुपर्ने विभागले स्पष्ट पारेको छ ।
विभागले यात्रुलाई पनि अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ । साथै, मादक पदार्थ सेवन गरी यात्रा नगर्न, आधिकारिक काउन्टर तथा परिचयपत्र भएका कर्मचारी वा व्यक्तिबाट मात्र टिकट लिन आग्रह गरेको छ ।
त्यस्तै, उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमन गर्न यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनी लगायत सम्बन्धित संस्थासँग समन्वय गर्ने व्यवस्था मिलाउन भनेको छ ।
सवारी चालक तथा कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार तोकिएको स्थानमा यात्रुलाई खाना–खाजा खुवाउने व्यवस्था मिलाउनुपर्ने र त्यस क्रममा भीडभाड नहुने व्यवस्था गर्नुपर्नेछ ।
उपत्यकामा भित्रिने र बाहिरिने प्रमुख स्थानसहित देशभर मादक पदार्थ सेवन (मापसे) तथा लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको छ । कुनै चालकले मापसे वा लापसे गरेको पाइएमा सम्बन्धित व्यवसायीले अर्को चालकको व्यवस्था गर्नुपर्नेछ ।
त्यस्तै, लामो दूरीका यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीको यान्त्रिक अवस्था लगायतका विषयमा अनिवार्य चेकजाँच गर्नुपर्नेछ ।
लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राख्नुपर्ने र आलोपालो गरी सवारी चलाउने व्यवस्था मिलाउन, १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई चालक तथा अन्य काममा नलगाउन निर्देशन दिएको छ ।
चाडपर्व नजिकिँदै जाँदा यात्रुवाहक सवारीको चाप अत्यधिक बढेर सडक दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले त्यसलाई मध्यनजर गरी प्रभावकारी अनुगमन तथा निगरानीको व्यवस्था मिलाउन विभागले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
चाडपर्वका बेला यात्रुवाहक सवारीसाधनको आवागमन हुने मुख्य सडक तथा राजमार्गको निरन्तर निरीक्षण गरी आवश्यक मर्मत–सम्भार गर्न विभागले सम्बन्धित निकायलाई भनेको छ ।


