काठमाडौं । काठमाडौंको सडकमा एउटा पारिवारिक विद्युतीय एसयूभी चलाउँदा सबैभन्दा पहिले ध्यान जाने कुरा यसको चलाउने सहजता, आराम र शहरको ट्राफिकमा देखाउने व्यवहार हो । यही हिसाबले हेर्दा हाभल जोलियन म्याक्स ईभी पारिवारिक प्रयोगका लागि निकै व्यवहारिक देखिन्छ ।
अझ, पेट्रोल कार मनपराउने र ईभीमा जान्छु भन्नेको लागि यो निकै बलियो कम्बिनेसन हो । ड्राइभट्रेन र प्रविधि ईभीको पूरै पाइन्छ । गाडीको बनोट भने पेट्रोलियम इन्जिन भएका कार जस्तो छ । त्यसैले दुवै किसिमको ग्राहकले यसलाई मनपराउन सक्नेछन् ।
यसको लम्बाइ ४५९० एमएम, चौडाइ १८७७ एमएम र उचाइ १६७५ एमएम अग्लो छ । ग्रेटवाल मोटर्सको जोलियन म्याक्स काठमाडौंका सडकमा चलाउँदा पनि ठूलो एसयूभीजस्तो कठिनाइ भोग्नु पर्दैन ।
अग्लो ग्राउण्ड क्लियरेन्सका कारण उवाडखावड सडक, स्पीड ब्रेकर र सामान्य खाल्डाखुल्डी पार गर्दा ढुक्क महसुस हुन्छ । तर, यही अग्लोपनको प्रभाव घुम्तीमा भने केही महसुस हुन्छ । तीव्र गतिमा मोड लिँदा हल्का बडी रोल अनुभव हुन्छ । पारिवारिक एसयूभीका लागि यो अस्वाभाविक होइन, तर स्पोर्टी ड्राइभिङ चाहने चालकका लागि भने यो पक्ष चासोको विषय हुन सक्छ ।
१५० किलोवाटको अगाडिको विद्युतीय मोटरले २६० न्युटन मिटर टर्क दिन्छ । काठमाडौंको सामान्य ट्राफिक, उकालो र ओभरटेकिङका लागि यसको शक्ति पर्याप्त छ ।

एक्सिलरेटर दबाउँदा तत्काल प्रतिक्रिया दिने विद्युतीय मोटरका कारण सहरमा चलाउँदा गाडी स्मार्ट र चुस्त लाग्छ । ५८.३ किलोवाट आवरको ब्याट्रीले डब्लूएलटीपीका अनुसार ४०० किलोमिटर रेन्ज दिन्छ । हामीले फुल चार्ज सकिनेगरी ड्राइभिङ नै गरेनौं ।
जोलियन म्याक्सको अर्को बलियो पक्ष यसको प्रविधि र सुविधा हो । १४.६ इन्चको ठूलो मल्टिमिडिया स्क्रीन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, मोबाइल कनेक्टिभिटी, ६ वटा स्पिकर र आवाजबाट नियन्त्रण गर्न सकिने प्रणालीले चालक र यात्रुको अनुभवलाई आधुनिक बनाउँछ ।
काठमाडौंको ट्राफिकमा पार्किङ गर्दा ३६० डिग्री क्यामेरा, अगाडि-पछाडिका पार्किङ सेन्सरले गाडीको वरिपरिको अवस्था बुझ्न सहज बनाउँछ ।
लेन परिवर्तन गर्न सहयोग गर्ने, ब्लाइन्ड स्पट मोनिटरिङ, फ्रन्ट कोलिजन वार्निङ, अटोमेटीक इमर्जेन्सी ब्रेकिङ र लेन किप एसिस्ट निकै उपयोगी छ । यी एडास भित्रका फिचरले लामो यात्रामा मात्र होइन, दैनिक सहरी क्षेत्रको यात्रामा पनि चालकलाई सहयोग गर्छ ।
भित्र पर्याप्त सामान राख्ने स्थान, आरामदायी सिट, मेमोरी तथा विद्युतीय रूपमा समायोजन गर्न मिल्ने अगाडिका सिट, भेन्टिलेटेड र हिटेड सिटले मौसम अनुसारको यात्रालाई उपयोगी बनाउँछ ।
पछाडिको सिट र प्यानोरामिक सनरुफको संयोजनले पछाडि बस्ने यात्रुलाई पनि खुला र आरामदायी अनुभूति दिन्छ । ६.६ किलोवाट एसी चार्जिङ, डीसी फास्ट चार्जिङ र गाडीको ब्याट्रीबाट बाहिरी उपकरण चलाउन सकिने भीटुएल सुविधाले युवाहरुलाई धेरै आकर्षित गर्न सकछ ।
अगाडि म्याकफर्सन र पछाडि मल्टिलिंक सस्पेन्सन र चारै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ । जसले यात्रा आरामदायीसँगै सुरक्षीत बनाउने छ ।
कम्पनीले यसको मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्य कायम गरेर बुकिङ लिइरहेको छ ।
जोलियन म्याक्स ईभीको मुख्य विशेषता केवल विद्युतीय मोटर वा रेन्जमा मात्र सीमित छैन । काठमाडौंमा दैनिक चलाउँदा यसको आराम, प्रविधि, सुरक्षा सुविधा र पारिवारिक उपयोगिता बलियो लाग्छ ।
घुम्ती बाटोहरूमा देखिने हल्का बडी रोललाई छाड्ने हो भने, आरामदायी र सुविधासम्पन्न पारिवारिक विद्युतीय एसयूभी खोज्ने ग्राहकका लागि यसले धेरै पक्ष समेटेको देखिन्छ ।

