ग्यालेक्सी ई-५ मा भयो ठूलो परिवर्तन, थपिए थुप्रै नयाँ फिचर

काठमाडौं । नेपालमा जिली ईएक्स-५ र प्रोटोन इमास-७ दुवै नामबाट उपलब्ध जिलीको ग्यालेक्सी ई-५ मा व्यापक परिवर्तन भएको छ । कम्पनीले आफ्नो बढ्दो बिक्रीलाई थप बलियो बनाउन ई-५ मा ठूलो परिवर्तन गरेको हो ।

नयाँ ग्यालेक्सी ई-५ मा कम्पनीले बाहिरी डिजाइनभन्दा यसको विद्युतीय प्रणाली, चलाउने प्रविधि र सुरक्षा सुविधामा ठूलो परिवर्तन गरेको छ । चीनमा यसलाई विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको हो ।

नयाँ मोडलमा सबैभन्दा ठूलो परिवर्तन ड्राइभिङ सिस्टममा गरिएको छ । यसअघि फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध एसयूभी अब भने रियर ह्वील ड्राइभ सिस्टमको साथ बजारमा आउने भएको हो ।

कम्पनीले मोटर पावरमा पनि ब्यापक वृद्धि गरेको छ । यसमा २४५ किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर दिइको छ । ३२९ पीएस पावर हो ।

जिलीले यसको उत्पादन नयाँ ८०० भोल्ट आर्किटेक्चरमा गरेको हो । यसमा प्रयोग गरिएको ब्याट्रीले ६सी क्षमताको तीव्र चार्जिङ सपोर्ट गर्छ । कम्पनीको नयाँ ‘एजिज गोल्डेन ब्रिक’ ब्लेड ब्याट्रीको साथ नयाँ ई-५ बजारमा आएको हो ।

चिनियाँ निर्माताले यसलाई ३ ब्याट्री अप्सनमा ल्याएको छ । जसमा ६०.२२, ६१.५२ र ७०.०१ किलोवाट आवरको ब्याट्री छ । ठूलो ब्याट्रीले डब्लूएलटीपी रेन्ज ५१४ किलोमिटर दिने बताइएको छ । यसलाई केबल ९ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ ।

नयाँ ई-५ को छतमा लिडार जडान भएको छ । कम्पनीको जी-पाइलट एच-५ एडास फिचर यसमा पाउन सकिन्छ । यसमा रहेको एडास फिचरको सहायताले सहरी क्षेत्र तथा राजमार्गमा गाडी चलाउँदा लेन अनुसार गाडी आफैँ चलाउन सकिन्छ । अटोमेटीक पार्किङ सुविधा पनि थपिएको छ ।

अगाडि नयाँ बम्पर, नयाँ क्यामेरा सेटअप, परम्परागत ढोकाको ह्याण्डलहरूको प्रयोग र १६० लिटर क्षमताको फ्रन्ट फ्रंक्स थपिएको छ ।

ड्यासबोर्डमा १५.४ इन्चको २.५के इन्फोटेन्टमेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल मिटर, हेड-अप डिस्प्ले, ५४० डिग्री क्यामेरा, ५० वाटको वायरलेस फोन चार्जिङ र अगाडिको यात्रुका लागि ‘जीरो ग्राभिटी’ सिट दिइएको छ ।

नेपालमा जिलीको ई-५ लाई प्रोटोनको ब्याचिङमा इमास-७ नामबाट जगदम्बा मोटर्सले ल्याएर बिक्री गरिरहेको छ । एलआरआर ग्रुपले भने जिलीकै ब्राण्डमा इएक्स-५ नामबाट बिक्री गर्दै आएको छ । यी दुई मध्ये कुनै एक कम्पनीले छिट्टै अगप्रेड भएको ई-५ नेपाल ल्याउने सम्भावना देखिन्छ ।

नयाँ ग्यालेक्सी ई-५ को संरचनामा १५०० एमपीए उच्च क्षमताको स्टिल, उच्च सुरक्षा सहितको ब्याट्री र गुड्दा गुड्दै टायर पंचर हुँदा समेत १६० किलोमिटर प्रतिघण्टासम्म सीधा र १२० किलोमिटर प्रतिघण्टासम्म मोडमा नियन्त्रण कायम राख्ने प्रणाली दिइएको जिलीको दाबी छ ।


Back_to_top