हिमालय एयरलाइन्सले पुनः काठमाडौं-सांघाई सिधा उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले पुनः काठमाडौं-सांघाई-काठमाडौं नियमित उडान सुरू गर्ने भएको छ ।

एयरलाइन्सले असोज १२ गतेदेखि (सेप्टेम्बर २८)देखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सांघाईको पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको हो ।

एयरलाइन्सका अनुसार सुरूमा काठमाडौं-सांघाई साताको दुई उडान हुनेछ । एयरलाइन्सले काठमाडौंबाट साताको हरेक सोमबार र शुक्रबार साँझ ६:२५ बजे सांघाई उडान गर्नेछ । त्यस्तै, सांघाईबाट मंगलबार र शनिबार बिहान ३ बजे उडेको जहाज बिहान ७:१० बजे काठमाडौं आइपुग्नेछ ।

यात्रुको माग बढेमा थप उडान संख्या थप्न सकिने एयरलाइन्सले जनाएको छ । हिमालयले काठमाडौं–सांघाई उडान पुनः संचालनले गर्ने भएसँगै नेपाल र चीन बीचको व्यापार, पर्यटन लगायत गतिविधिमा सहज हुनेछ ।

यात्रुहरुले हिमालय एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

हिमालय एअरलाइन्स नेपाल-चीन संयुक्त साझेदारीमा सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । कम्पनीसँग हाल ३२०-२१४ तीन वटा र एउटा एयरबस ३१९-११५ गरी कुल चार जहाज छन् । हिमालयले मध्यपूर्व, दक्षिण एसिया र चीनका विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ ।


Back_to_top